विराटनगर, २० भदौ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आन्दोलनरत दललाई आन्दोलन त्यागी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संविधान गतिशील दस्तावेज रहेको र समयसापेक्ष रुपमा परिमार्जन हुँदै जाने गरेकाले वार्तालाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिनुभयो ।
उहाँले मुलुक प्रसववेदनाबाट गुज्रिरहेको अवस्थामा नयाँ जीवन पाउन सबैलाई धैर्यका साथ मुलुकमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिनुभयो । उहाँले निर्धारित तालिकाका आधारमा संविधानसभा अगाडि बढ्दै गएकाले अवस्थामा बढीमा असोजको पहिलो सातासम्ममा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आन्दोलनको परिस्थिति सिर्जना हुनु उचित नभएकोे उल्लेख गर्दै मन्त्री रिजालले मनपर्ने विषय सबै हुनुपर्ने र मन नपर्ने विषय एउटै पनि नरहने सोचाइबाट माथि उठ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
दश वर्षे सशस्त्र द्वन्द्व वार्ताकै माध्यमबाट समाधान भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “आन्दोलनरत दल संविधानसभाको प्रक्रियामा बसेको भए झन राम्रो हुने थियो तर, अहिले पनि वार्तालाई प्राथमिकता दिनुपर्छ ।”
विभिन्न जिल्लामा लगातार २२ दिनदेखिको बन्दका कारण जनजीवन कष्टकर बन्दै गइरहेको सन्दर्भमा पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो – “हिंसा–प्रतिहिंसाले समस्या समाधान नहुने भएकाले सरकारको प्रत्येक प्रयत्न जीवनयापन सामान्य बनाउनेतर्फ र कसैको ज्यान नजानेतर्फ अग्रसर छ ।” रासस












प्रतिक्रिया