काठमाडौं, २० भदौ । सधैँ मिडिया देख्नेवित्तिक केही न केही बोल्न नारायणकाजी श्रेष्ठ शनिबार बोल्न मान्नु भएन । रिसाएको जस्तो देखिने उहाँको अनुहार मलिन र कालो देखिन्थ्यो ।
सिंहदरबारस्थित संसद सचिवालयमा बसेका तीन ठूला दलका शीर्ष नेताहरूको बैठकबाट आक्रामक रुपमा बाहिरिनुभएका श्रेष्ठलाई संविधानको विधेयकमाथि राख्नका लागि भएको सहमतिप्रति चित्त बुझेको रहेनछ ।
उहाँ कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूबीच भएको सहमतिको विरोध गर्न रिसाएर बैठकबाट बाहिरिनु भएको रहेछ । यो कुरा पछि मात्रै पत्ता लाग्यो ।
श्रेष्ठ बैठकबाट बाहिर निस्किएपछि थकाइ मार्दै बसेका टेलिभिजनका क्यामराम्यान र पत्रकारहरू जर्याकजुरुक उठेका थिए । एमाओवादीका उपाध्यक्ष श्रेष्ठ पत्रकारमैत्री मानिनुहुन्छ । तर शनिबार बेलुका उहाँको व्यवहारबाट पत्रकारहरू एकछिन चकित परेका थिए ।
पछि बुझ्दै जाँदा प्रमुख तीन दलले संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ताका लागि गरेको सहमति रहेछ । उहाँले संशोधनका लागि तयार पारिएको मस्यौदाले मधेशी, थारु, दलित, अल्पसंख्यकको माग सम्बोधन नगरेको आरोप लगाउँदै असन्तुष्टि जनाउनुभएको रहेछ ।
हुन त उपाध्यक्ष सभासद हुनुहुन्न । तै पनि उहाँले एमाओवादीमा निर्णायक भूमिका खेल्नु हुन्छ । श्रेष्ठ रिसाएर गएपछि त्यसको केही समयपछि एकीकृत माओवादीका अध्यक्ष दाहाल पनि बाहिरिनु भएको थियो ।
त्यसपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा एकीकृत माओवादीका प्रभावशाली नेताहरूको बैठक बसेको थियो । रिसाउनुभएका उपाध्यक्ष श्रेष्ठलाई अध्यक्ष दाहालले सम्झाउनुभएको स्रोतको भनाइ छ ।













प्रतिक्रिया