काठमाडौं, १९ भदौ । संविधान निर्माणको प्रक्रिया केही समय लम्बाउनुपर्ने पक्षमा देखिनु भएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार चार दलीय गठबन्धबाट रिसाउनुभएको छ ।
अन्ततः गच्छदार संविधानको विधेयकमा संशोधनको प्रक्रियामा सहभागी हुनु भएन । संसद सचिवालयमा प्रमुख चार दलको बैठकबाट रिसाएर बहिरिनुभएका गच्छदार राति नौ बजेसम्म आफ्नै संसदीय दलको कार्यालयमा बस्नुभएको थियो । उहाँले पत्रकारहरूसँग कुरा गर्न पनि मान्नुभएन ।
तपाई किन चार दलसँग संविधानको संशोधनको प्रक्रियाबाट बाहिरिनुभयो ? भन्ने पत्रकारहरूको जिज्ञासामा गच्छदारले भन्नुभयो, ‘रामजनमजीलाई सोध्नुस् ।’
गच्छदारले अब सडक आन्दोलन गर्ने बताउनुभएको छ । त्यसका लागि आफ्ना सभासद र नेताहरूसँग शनिबार राति नै छलफल समेत गर्नुभएको छ । उहाँले अन्य दलका थारु सभासदहरूसँग छलफल गर्नुभएको छ ।
यसैबीच, फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले आफूहरू संविधानको संशोधनको प्रक्रियाबाट बाहिरिएको बताउनुभएको छ ।
आफ्नै संसदीय दलको कार्यालयमा पत्रकारसँग कुरागर्दै चौधरीले थारु र मधेशीका मागलाई सम्बोधन गर्न तीन ठूला दल तयार नभएपछि प्रक्रियाबाट बाहिरिएर आन्दोलनमा जाने निर्णय गरेको बताउनुभयो ।












प्रतिक्रिया