२१ कार्तिक २०८३, शनिबार

केपी ओली र कृष्ण सिटौलालाई टक्कर दिन मधेसी मोर्चाको नयाँ माग, पुरा हुनै कठिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १९ भदौ । विभिन्न मागहरु राख्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एउटा अर्काे माग पनि अघि सारेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका महामन्त्री कृष्ण सिटौलालाई चुनौति दिँदै मोर्चाले पूर्वका झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा राख्नुपर्ने माग अघि सारेको हो ।

केही दिन अघि एमाले अध्यक्ष ओलीले आन्दोलनविरुद्ध युवा संगठनहरु परिचालन गर्नु तथा कांग्रेस महामन्त्री सिटौलाले संविधान बनेपछि मात्रै आन्दोलनकारीसँग वार्ता हुने कडा अभिव्यक्ति दिएपछि रिसाएको मोर्चाले सरकारसँग राखेका आफ्ना मागहरुमा झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा राख्नुपर्ने मागलाई थपेको हो ।

झापा, सुनसरी र मोरङलाई एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्री सिटौलाको अडानमा मधेसबाट छुट्याएर पूर्वी प्रदेशमा समावेश गरिएको थियो । स्रोतका अनुसार ओली र सिटौलाको अडान अगाडि एमाओवादीले घुँडा टेक्दै पूर्वी प्रदेशमा राख्न सहमति जनाएको थियो भने, मधेसी मोर्चाले पनि त्यो विषयमा मौन समर्थन जनाएको थियो ।

तर, ओली र सिटौलाको पछिल्लो अभिव्यक्तिले रिसाएको मधेसी मोर्चाले यो मागलाई पनि सरकारसँग वार्ताको शर्तमा थपेको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रिजवान अन्सारी बताए ।

विगतमा मधेसी, जनजाति, थारु र मुसलमानलगायतसँग गरिएको सम्झौता कार्यान्वयन, सेना फिर्ता र सरकारबाट आन्दोलनकारीमाथि भइरहेको दमन रोकेपछि मात्र सरकार चारदलसँग वार्ता हुने उनले स्पष्ट पारे ।

उनले सीमान्तकृत, पिछडिएका वर्ग, समुदाय आफ्नो अधिकार र पहिचानका लागि आन्दोलनरत रहेको बताउँदै झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा नराखे कुनै हालतमा पनि सरकारसँग वार्ता नहुने बताए । मोर्चाले मागेको यो शर्त पुरा हुन भने निकै कठिन छ ।