काठमाडौं, १८ भदौ । संविधानसभाका साना एक दर्जन राजनीतिक दलहरूले नयाँ बन्ने संविधानमा ‘मतसीमा’ (थ्रेसहोल्ड) को व्यवस्था नराख्न माग गरेका छन् ।
उनीहरूले थ्रेसहोल्ड नराख्ने व्यवस्था गर्न माग गर्दै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आज ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरूले भनेका छन्, ‘हामी हस्ताक्षरकारी पार्टीहरू निर्वाचन प्रणालीमा मतसीमा राख्ने विचार, प्रयास र कायैको दृढ विरोध गर्दछौं ।’
ज्ञापन पत्रमा उनीहरूले अगाडि भनेका छन्, ‘मागलाई उपेक्षा गरिएको खण्डमा हामी संघर्षका जुनसुकै रुप अपनाउन बाध्य हुने कुरा अवगत गराउन चाहन्छौं ।’
थ्रेसहोल्डको विरोधमा ज्ञापनपत्र बुझाउनेमा सीपी मैनाली (नेकपा– माले), जयदेव जोशी (नेकपा (संयुक्त), सीमाकुमारी विक (राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल), मिलनकुमारी राजवंशी (नेपाल परिवार दल), प्रमेबहादुर सिंह (समाजवादी जनता पार्टी), हरिचरण साह (नेपाली जनता दल), यशोदाकुमारी लामा (दलित जनजाति पार्टी नेपाल) रहेका छन् ।
त्यसै गरी ज्ञापनपत्र बुझाउनेमा कुमार खड्का (अखण्ड नेपाल पार्टी), लोकमणि ढकाल (जनजागरण पार्टी नेपाल), डिम्पलकुमार झा (नेपाल सदभावना पार्टी), दुर्गा पौडेल (जनमोर्चा नेपाल), रामकुमार राई (खम्बुवान राष्ट्रिय मोर्चा) र रुक्मिणी चौधरी (संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट) रहेका छन् ।












प्रतिक्रिया