काठमाडौँ, १८ भदौ । नेपाल मेडिकल कलेज एसोसिएसनले व्यापक छलफल गरेर मात्रै केदारभक्त माथेमाको अध्यक्षतामा गठित उच्चस्तरीय आयोगको प्रतिवेदन लागू गर्नुपर्ने माग गरेको छ ।
आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी एसोसिएसनले माथेमा आयोगको प्रतिवेदनमा रहेका सुझावलाई पूर्ण लागू गर्ने हो भने हाल सञ्चालित निजी मेडिकल तथा डेन्टल कलेज स्वतः धरासायी हुने भएकाले यसमा रहेका असहमतिलाई पुनरावलोकन गर्नुपर्ने माग राखेको हो ।
एसोसिएसनका कार्यबाहक अध्यक्ष डा सुरेशकुमार कनोडियाले डा गोविन्द केसीले गरिरहेको अनशनको दबाबमा उचित निर्णय हुन नसक्ने भन्दै माथेमा आयोगको सुझाव लागू गर्ने हो भने अहिले ८०० विद्यार्थी एमबिबीएस पढ्नबाट वञ्चित हुने बताउनुभयो ।
हाल सञ्चालित स्वास्थ्य संस्थामध्ये ८० प्रतिशत निजी क्षेत्रबाट सञ्चालनमा रहेको बताउँदै उहाँले भन्नुभयो– “निजी क्षेत्रले गरेका राम्रा कामका पनि मूल्याङ्कन हुनुपर्छ । यस क्षेत्रमा हामीले गरेको योगदानलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक भएन ।”
एसोसिएसनका महासचिव डा सुनिल शर्माले सरकारले स्वास्थ्य सेवा तथा शिक्षालाई राज्य नियन्त्रितरुपमा सञ्चालन गर्ने नीति अख्तियार गर्न खोजिएको हो भने अहिले सञ्चालित निजी मेडिकल तथा डेन्टल कलेज सरकारलाई हस्तान्तरण गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
यस विषयमा प्रधानमन्त्री तथा अन्य दलका नेतालाई ज्ञापनपत्र बुझाए पनि त्यसलाई बेवास्ता गरेका कारण यही भदौ २३ गतेदेखि अनिश्चितकालीन आन्दोलनमा जाने तयारी गरेको उहाँले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया