काठमाडौं, १७ भदौ । संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पुर्याउन नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुवीच वार्ता भएको छ ।
विहीबार एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तिवन निवासमा भएको बैठकमा संविधान निर्माण प्रक्रिया र देशभरी भइरहेको आन्दोलनलाई कसरी रोक्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । ‘बैठकमा आन्दोलनकारीसँग सहमति गर्ने कि संविधानसभाको प्रक्रियालाई नरोकी अघि बढ्ने भन्ने विषयमा सकारात्मक छलफल भएको छ’ स्रोतले भन्यो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको छलफलमा दुबै दलको धारणा भने फरक देखिएको थियो । एमाओवादी थारु, मधेसी, जनजातिको मागलाई सम्बोधन गरेर मात्रै संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा देखिएको छ भने, एमाले अहिलेको प्रक्रियाबाटै संविधानलाई टुङ्गो लगाउनुपर्ने पक्षमा देखिएको छ । यद्यपी आन्दोलनरत पक्षलाई वार्तामा ल्याउने कुरामा एमाले सकारात्मक देखिएको छ ।
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत केही दोस्रो तहका नेताहरुको समेत सहभागिता रहेको थियो ।












प्रतिक्रिया