९ कार्तिक २०८३, सोमबार

थरुहट आन्दोलन फेरि लम्बियो, ३१ भदौसम्म आम हड्ताल घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tharuhat  band ph 1

– सुदीप अधिकारी
बर्दिया, १६ भदौ । कञ्चनपुरदेखि चितवनसम्मको भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर विगत २३ दिनदेखि आन्दोलनमा उत्रेको थरुहटले आफनो आन्दोलनलाई झनै चर्काउने भएका छन् ।

आफूहरुको मागप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै थरुहटले आन्दोलनको कार्यक्रमलाई फेरि लम्बाएर भदौ ३१ सम्म पुर्याएको छ । यस अघि थरुहटले भदौ १६ सम्मका लागि बाँके बर्दिया बन्दको घोषण गरेको थियो ।

भदौ १७ गतेदेखि आन्दोलनलाई झनै सशक्त बनाइने थरुहटले जनायो । केन्द्रको निर्णय अनुसार भदौ १७ देखि ३१ गतेसम्म आम हड्तालको घोषणा गरिएको थरुहट÷थारुवान संर्घष समिति बर्दियाका संयोजक गोबिन्दप्रसाद थारुले जानकारी दिए ।

यस अघि थरुहटले बन्दलाई केही खुकुलो बनाएर विद्यालय संचालन गर्न सहमती जनाएको थियो । तर, पछिल्लो आम हड्ताल घोषणासँगै विद्यालय पनि संचालन गर्न नदिइने अध्यक्ष थारुले बताए । आम हड्ताल गर्नुको बाध्यता सुनाउँदै अध्यक्ष थारुले भने, ‘२३ दिन बित्दापनि सरकारले हाम्रो माग बारे कुनै सुनुवाई नै गरेन । बाध्य भएर आम हड्ताल घोषण गर्नु पर्यो । अब हाम्रा कार्यकर्ता चौबिसै घण्टा सडकमा उत्रेर आन्दोलन गर्ने छन् । ’

६ प्रदेशको नक्सांकन र सिमांकन सच्याएर ल्याएको ७ प्रदेशको विषयमा थरुहटले घोर भ्रत्सना समेत गरेको छ । ७ प्रदेशमा पनि आफुहरुको माग सम्बोधन नभएको भन्दै थरुहटहरु थप आन्दोलित बन्दै गएका छन् । स्थानिय प्रशासनले गुलरिया र राजापुरका केही क्षेत्रलाई निषेधित क्षेत्र तोकिएपनि बर्दियामा थरुहटको आन्दोलन भने रोकिएको छैन् । निषेधित क्षेत्र भन्दा बाहिर दिनहुँजसो नाराजुलुस र कोणसभा लगायत विरोधका कार्यक्रमहरु भने जारी छ । आन्दोलन सुरु भएयता थरुहटका कार्यकर्ताले गुलरिया, राजापुर र भुरिगाउँ क्षेत्रमा दिनहुँ जसो नाराबाजी गर्दै आएका छन् । सोमबार हजारौँको संख्यामा रहेका थरुहट कार्यकर्ताहरु सदरमुकाम गुलरियामा विशाल र्यालीसहित विरोध सभा गरेका थिए ।

लगातारको बन्दका कारण यहाँको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजारमा दैनिक उपभोग्य बस्तुको अभावसँगै महंगी पनि बढ्दै गएको छ । उद्योग कलकारखाना ठप्प छन् । गरिखने मजदुरलाई साझ विहानको छाक टर्न समस्या भएको छ । काम नपाएपछि गाउँका युवाहरु धमाधम भारत पलायन हुँदै छन् ।