काठमाडौं, १६ भदौं । राष्ट्रिय हिन्दु यूवा मञ्चले नयाँ संविधानमा नेपाललाई सनातन हिन्दु राष्ट्र नेपाल घोषणा गर्नुपर्ने माग राखेर सुरु गरेको आमरण अनसनमा ऐक्यवद्धता जनाउने कार्य जारी रहेको छ ।
आज (बुधबार) तेस्रो दिनको कार्यक्रम विभिन्न अनसनकारी, सञ्चारकर्मी, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणहरूले हिन्दु राष्ट्रको अभियानमा साथ र समर्थन रहेको जनाएका हुन् ।
राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले अब आउने संविधानमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग गर्दै आएको छ । उसले गौ हत्या बन्द गर्नुपर्ने र धर्म परिवर्तन कानुनबाटै बन्द हुनुपर्ने लगायतका सात बुँदे माग अगाडि सारेको छ ।
हिन्दु राष्ट्र घोषणा नभएसम्म अनसन नतोडिने अनसनमा सहभागीहरूले बताएका छन् ।
आज राप्रपा नेपालका सभासद सीता ज्ञवाली लुइँटेल, साहयक महामन्त्री तारानाथ लुइँटेल, उपाध्यक्ष टंकप्रसाद ढकालका साथै कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरे, लोकेस ढकाल र विश्व हिन्दु महासंघका सभापति नीलप्रसाद भण्डारीलगायतले एकबद्धता जनाउनु भएको छ ।
गोव्रती सोमराज गुरुले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्न कसैले पनि रोक्न नसक्ने धारणा राख्नु भयो । उहाँले सम्पूर्ण सर्वसाधारण सञ्चारकर्मी, राजनीतिज्ञलाई हिन्दु राष्ट्रको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
तीन दिनदेखि ‘युवा उठौं, जागौँ नेपालको पहिचान, नेपालको स्वाभिमानको रक्षा गरौं, सनातन हिन्दु राष्ट्र कायम गरौं, सनातन हिन्दु राष्ट्र कायम गरौं’ भन्ने मुल नाराका साथ अनसन सुरु भएको छ । अनसन सुरु गरिए पनि सरकारले अनसनकारीको माग सुनुवाई गरेको छैन ।




















प्रतिक्रिया