काठमाडौं, १६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई मधेशका जिल्लाहरूमा नेपाली सेना परिचालन गरेर वार्ता सम्वभ नरहेको बताउनुभएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले सेना परिचालन भएको अवस्थामा सरकारसँग वार्ता नहुने बताउनुभयो ।
‘यो सरकार वार्ताप्रति जिम्मेवार भएन’, उहाँले भन्नुभयो, ‘मधेशमा नेपाली सेना परिचालन भएको अवस्थामा हामी वार्तामा बस्दैनौ ।’ उहाँले वार्ताका लागि सरकारले न्युनतम सर्त पनि पूरा नगरेको बताउनुभयो ।
वार्ता र सम्वादका लागि संविधानसभालाई स्थागन गर्नुपर्ने माग गर्नुभएका अध्यक्ष यादवले संविधानसभाको समय प्रसस्त रहेकाले छलफल र सम्वादमार्फत नयाँ संविधान जारी गर्नु उपयुक्त हुने बताउनुभयो । ‘संविधानसभाको समय थुपै्र छ’, उहाँले भन्नुभयो, ‘संविधानसभा स्थागन गरेर संविधान बनाउन हामी तयार छौ ।’
मधेशको आन्दोलन मुलुकका अन्य क्षेत्रमा पनि हुने तयारीमा रहेको भन्दै उहाँले सरकारलाई समयमा सचेत रहन र माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।
उहाँले सरकार तराई र मधेशका जिल्लाहरूमा नरशंहारमा उत्रिएको आरोप लगाउनुभयो । अध्यक्ष यादवले भन्नुभयो, ‘यो सरकार र राज्य नस्लवादी र साम्प्रदायिकताको चिन्तनबाट अगाडि बढेको छ ।’ उहाँले मधेशी र थारुका मागलाई सम्बोधन गर्नुको साटो दमनमा उत्रिएको भन्दै यस्ता कार्य नरोकिँदासम्म वार्ता सम्भव नरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष यादवले सरकारले मधेशमा जिल्लामा गरेका दमनको अन्तर्राष्ट्रिय जगतमा पनि उठाउनुपर्ने माग गर्नुभएको छ । उहाँले सरकार र राज्यलाई मानवताविरोधी अपराधमा अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्ने बताउनुभयो ।
खचाखच भरिएका पत्रकार सम्मेलन कक्षमा अध्यक्ष यादवसँग संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया