काठमाडौं, १५ भदौं । राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले संविधानमा नेपाललाई हिन्दु राष्ट्र कायम गनु पर्र्ने, गौ हत्या बन्द गर्नु पर्ने र धर्म परिवर्तन बन्द गर्नु पर्ने सहितका तीन सुत्रीय माग राखेर खुला मञ्चमा आमरण अनसन सुरु गरेको छ ।
नेपाललाई धर्म निरपेक्ष घोषणा गरी राष्ट्रिय पहिचान र संस्कृति मास्ने काम भएकोले पुनः हिन्दु राष्ट्र घोषणा गराउन मागसहित अनसन सुरु गरिएको हो । नेपाललाई हिन्दु राष्ट्र नबनाउँदासम्म अनसन अनसन गरिने छ ।
स्वामी पद्यमधराचार्य, भागवताचार्य, राममणि प्रभूलगायत साधु सन्तहरुबाट सोमबार दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।
राष्ट्रिय हिन्दू युवा आमरण अनसनका सह–संयोजक तथा अनसनकारी सागर कटुवालले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम नगर्दा आफूहरु अनसनमा बसिरहने बताउनुभयो ।
विदेशी डलरमा धर्म परिवर्तनको खेल भएको भन्दै कटुवालले भन्नु भयो, ‘नेपालमा धर्म परिवर्तन गर्न पूर्ण प्रतिबन्ध लगाउनु पर्दछ भन्ने हाम्रो माग हो ।’
सत्मार्ग अभियान नेपालका संगठन मन्त्री तथा आमरण अनसनका संयोजक खेमराज आचार्यले धर्म नष्ट भए संस्कृति नष्ट हुने, संस्कृति नष्ट भए राष्ट्र नै नासिने र अन्ततः नेपालको अस्तित्व समाप्त हुने बताउनुभयो । उहाँले आमरण अनसन हिन्दू राष्ट्र स्थापनाको लागि निर्णायक हुने बताउनु भयो ।
संयोजक आचार्यले धर्मले बाँधेको नेपाललाई तोड्न इसाई र पश्चिमाहरुले जातीयता र साम्प्रदायिकताको नारा उचालेको बताउनु भयो ।
आमरण अनसनका सह–संयोजक तथा अनसनकर्ता प्रेमनीधि भारद्वाजले हिन्दू सधैँभरी शान्तिका पक्षमा भएकोले अरुलाई असर गर्ने खालको विरोध कार्यक्रम नगरिएको बताउनुभयो ।
अनसनमा बस्नु भएका कमल जोशीले धर्म मेटाउन करोडौंको खेल भएको बताउनुभयो । उहाँले सरकार आफै हिन्दू राष्ट्रविरुद्ध लागेकाले आफूहरुको माग पूरा नभएसम्म अनसन नतोड्ने बताउनुभयो ।
कार्यक्रममा सनातन संयुक्त मोर्चाका तर्फबाट डा.मीठाराम विश्वकर्मा, सत्मार्ग अभियान नेपालका तर्फबाट जनार्दन घिमिरे, राष्ट्रिय धर्म सभाका धर्मराज वराल, अधिवक्ता कुमार रेग्मी तथा साधु सन्तको तर्फबाट स्वामी भागवताचार्य, स्वामी पद्यमधराचार्यलगायतले ऐक्यवद्धता जनाउनु भएको छ ।
अनसनमा मंगलबारदेखि अन्य अनसनकारीहरु पनि थपिँदै जाने मञ्चको भनाइ छ ।















प्रतिक्रिया