काठमाडौं । मुलुकमा संविधान जारी गर्न तथा स्थायी शान्ति कायम गर्न अब सम्पूर्ण कलाकार एकजुट भई भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
रिपोर्टर्स क्लबले गाईजात्राको अवसरमा आज आयोजना गरेको कार्यक्रममा हास्यव्यङ्ग्य कलाकारले सबै नेपालीको सामाजिक सदभाव र राष्ट्रिय एकताका लागि संविधान जारी गर्नुपर्ने सुझाएका हुन् ।
कलाकार दीपकराज गिरीले कैलालीलगायत स्थानमा भएका झडप, हिंसाले अहिले राष्ट्रलाई दुःख परेको बेला कलाकारले सामाजिक सदभाव तथा एकता कायम राख्नुपर्नेमा जोड दिँदै मुलुकमा कायम रहेको हत्याहिंसालाई अन्त्य गर्न माग गर्नुभयो ।
कलाकार मनोज गजुरेलले मधेसी दलहरुले आन्दोलनमा मारिनेलाई रु ५० लाख दिने भनी गरेको घोषणाप्रति व्यङ्ग्य गर्दै त्यसरी घोषणा गरिएको रुपैयाँले जनताको ज्यान कसैको मुख्यमन्त्री बन्ने ‘सिँढी’ बन्न नहुने बताउनुभयो ।
दीपाश्री निरौलाले भूकम्प, बाढी, पहिरोजस्ता विपत्को पीडा घट्न नपाउँदै कैलालीमा घटेको घटनाले मुलुक अहिले रोएको बेला कलाकार हाँस्न नसक्ने बताउनुभयो ।
शिवहरि पौडेलले आफूहरुले वर्षमा एक दिन नेतालाई व्यङ्ग्य गरेर गाइजात्रा मनाएपनि नेताले वर्षैभरी जनतालाई व्यङ्ग्य गर्ने गरेको बताउँनुभयो ।
सीताराम कट्टेलले देश रोएको बेला हँसाउनु उपयुक्त नलागे पनि देशलाई दुःखबाट बाहिर निकाल्न हँसाउनुपर्ने विचार राख्दै अब मुलुकमा संविधान जारी गरी शान्तिपूर्ण जनतालाई बाँच्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
कलाकारहरु राजाराम पौडेल, किरण केसी, देवीराम पराजुली, शिवशङ्कर रिजाल, श्रीकृष्ण सिंखडालगायतले मुलुकमा बढ्दो जातीय, धार्मिक द्वन्द्वप्रति सचेत हुन आग्रह गर्दै देशको पछिल्लो अवस्था, राजनीतिक दलको जनताप्रतिको गैरजिम्मेवार गतिविधि, वैदेशिक हस्तक्षेपकाबारेमा व्यङ्ग्य गर्नुभयो । रासस















प्रतिक्रिया