महेन्द्रनगर, १३ भदौ । २३औं अन्तर्राष्ट्रिय वेपत्ताबिरुद्धको दिवस कञ्चनपुरमा पनि मनाईएको छ ।
स्थानीय शान्ति समिति कञ्चनपुर, कोक्याप कञ्चनपुर, एडभोकेशी फोरम कञ्चनपुरले संयुक्त रुपमा आइतबार बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा झलारी बजारमा बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाएको हो ।
स्थानीय शान्ति समितिका संयोजक गगन सिंहको अध्यक्षतामा सम्पन्न भएको वेपत्ता पारिएका परिवारहरुको सत्य, न्याय र परिपुरणको अवस्था विषयक छलफल कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाट, कोक्यापकी क्षेत्रीय संयोजक भुवन कुवर र एडभोकेसी फोरमका जिल्ला सयोजक वीर वहादुर विष्टले वेपत्ता छानविन आयोगको नियमावली, सामाजिक सुरक्षा र द्वन्द्व पीडितहरुको अधिकार लगायतका विषयमा सहजीकरण गरेका थिए ।
छलफल कार्यक्रममा वेपत्ता परिवारहरुका आफन्तहरुले वेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक नभएकोमा दुःखी रहेको वताए । पीडितहरुले राज्यले वेपत्ताहरुको अवस्था सार्वजनिक गर्नका साथै वेपत्ता पार्नमा संलग्न रहेका अपराधीहरुलाई कार्वाही गर्न राज्यसंग माग गरेका थिए ।
नेपालमा सन् १९९६ देखि २००६ सम्म भएको दशक लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाफौज र तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सयौं मानिसहरुलाई बेपत्ता पारे । ती मध्ये ९ सय हाराहारी मानिसहरु अझै पनि बेपत्ता नै छन् । इन्सेकको तथ्याङ्कअनुसार राज्यपक्षबाट ८ सय २४ र तत्कालिन माओवादीबाट १ सय ८ जना गरी ९ सय ३२ जनालाई बलपूर्वक बेपत्ता पारिएकोमा उनीहरुको अवस्था हालसम्म अज्ञात नै छ ।
२०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको बुँदा नं ५/२/३ मा ‘दुवै पक्षद्वारा वेपत्ता पारिएका व्यक्तिहरुको तथा युद्धको समयमा मारिएकाहरुको बास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचनाहरु सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउने’ उल्लेख भएको छ ।
तर सो सम्झौता भएको झन्डै ९ वर्ष बित्न लागिसक्दा पनि बेपत्ताहरुको अवस्था सार्वजनिक गर्ने काम अघि बढ्न सकेको छैन । शान्ति सम्झौतामा उल्लेख भएअनुसार केही समय अघि सरकारले बेपत्ता पारिएका व्यक्ति छानविन आयोग गठन गरेको भए पनि आयोगका प्रावधान पीडितमुखी नभएको इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले बताए ।















प्रतिक्रिया