प्यूठान, १३ भदौ । नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखा प्यूठानले विद्युत् महसुल नतिर्ने ९६ जना ग्राहकको लाइन काटेको छ ।
पछिल्लो एक वर्षमा जिल्लामा विद्युत् महसुल नतिर्ने ७७ जना व्यक्ति, नौ वटा ग्रामीण तथा साना उद्योग, चार वटा व्यापारिक फर्म, पाँच वटा गैरसरकारी संस्था र एकवटा सिँचाइ आयोजना गरी ९६ वटा उपभोक्ताको विद्युत् लाइन काटिएको विद्युत् प्राधिकरण बिजुवारले जनाएको छ ।
प्राधिकरणले तीन महिनासम्म वा तीन हजार रुपैयाँ भन्दा धेरै महसुल बाँकी राखेका ग्राहकको लाइन काट्ने गरेको प्राधिकरणका आयफाँट प्रमुख भोजबहादुर विष्टले बताउनुभयो । जिल्लामा प्राधिकरणका १४ हजार ८१९ ग्राहक रहेका छन् । प्राधिकरणले दुर्गम तथा टाढाका स्थानमा तीन महिनाको एक पटकमात्रै विद्युत् रिडिङ गर्ने र सुगम स्थानमा प्रत्येक महिनाको एकपटक रिडिङ गर्ने गरेको छ ।
प्राधिकरणले पछिल्लो एक वर्षमा उपभोक्ता महसुलबाट २३ लाख ९५ हजार ११८ रुपैयाँ ३६ पैसा अझै उठाउन सकेको छैन । त्यस्तै एक वर्षको अवधिमा उपभोक्ता महसुलबाट चार करोड २५ लाख ८ हजार ८ हजार ४९ रुपैयाँ ४४ पैसा र विविधबाट २७ लाख ७२ हजार ३७८ रुपैयाँ ७५ पैसा गरी चार करोड ५२ लाख ८० हजार ४२८ रुपैयाँ १९ पैसा महसुल जम्मा गरिएको आयफाँट प्रमुख विष्टले जानकारी दिनुभयो ।
सबैभन्दा धेरै सरकारी कार्यालयबाट महसुल उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । रासस















प्रतिक्रिया