काठमाडौँ, १३ भदौ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा तीर्थराज खनियाँले कक्षाकोठाको स्वरुप बदल्ने र शिक्षण क्रियाकलापमा परिवर्तन ल्याउने बताउनुभएको छ ।
उपकुलपति खनियाँसँग आज शिक्षा पत्रकार समुहले यहाँ गरेको अन्तक्र्रियामा उहाँले पुरानो पढाइ शैलीले अहिलेको विश्वव्यापी शिक्षासँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै आफूले सहभागितामूलक र अन्तक्र्रियात्मक अध्यापन शैली स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कक्षाकोठामा नजानेका कुरा पुनः सोध्न ‘ट्युटोरियल’ (सहायक कक्षा) सञ्चालन हुनुपर्नेमा जोड दिँदै उपकुलपति खनियाँले प्राध्यापकसँग विश्वविद्यालयले लिएको समयको सदुपयोग पनि यही कक्षाबाट गर्न सकिने बताउनुभयो । “प्राध्यापकले कक्षामा पढाएपछि उनीहरुको काम सकिँदैन, विद्यार्थीले पछि खाली समयमा पनि सोध्न सक्ने वातावरण हुनुपर्छ”, उहाँले भन्नुभयो ।
शिक्षा क्षेत्रमा देखिएको बेथितिका कारण शिक्षा नीति नहुनु हो भन्दै उहाँले शिक्षाका कार्यक्रममात्र लागू हुने तर नीतिमा ध्यान दिन नसक्दा शिक्षामा सुधार हुन नसकेको बताउनुभयो । रासस















प्रतिक्रिया