२१ कार्तिक २०८३, शनिबार

‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री १० वटा जिल्लामा प्रदर्शन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Documentary-BHAGYALE-BAACHEKAHARU-Miracle-Survivals-in-Nepal-Earthquake

काठमाडौँ, १३ भदौ । विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर निर्मित ‘भाग्यले बाँचेकाहरु– मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक’ नामक डकुमेन्ट्री १० वटा जिल्लामा प्रदर्शन हुँदैछ ।

स्वदेश तथा विदेशमा समेत प्रदर्शन भइसकेको यो डकुमेन्ट्री भदौ महिनामा १० वटा जिल्लामा प्रदर्शन हुन लागेको हो । आज (आइतबार) साँझ ६ बजे नवलपरासीको कावासोतीस्थित गणपति चलचित्र मन्दिर, सोमबार बिहान ७ः३० बजे नारायणगढको गणेश चलचित्र मन्दिर र १४ गते साँझ ७ बजे दमौलीको मनकामना चलचित्र मन्दिर तथा मंगलबार दिउँसो ३ः३० बजे पोखराको सिटी हलमा यो डकुमेन्ट्री प्रदर्शन हुँदैछ । यसैगरी, वुटवल, बागलुङ, लमजुङ, अर्घाखाँची, झापा र कपिलवस्तुमा पनि यसै महिना प्रदर्शन हुन लागेको निर्देशक गणेश पाण्डेले जानकारी दिए । सुदूरपश्चिमाञ्चलको डडेल्धुरा, वैतडी र दार्चुलामा भदौ पहिलो हप्ता प्रदर्शन भइसकेको यो डकुमेन्ट्री विभिन्न जिल्लाबाट प्रदर्शनका लागि माग आए पनि समय व्यवस्थापन गर्न अप्ठेरो परेको उनले बताए ।

५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ । संचारकर्मी पाण्डेले निर्देशन गरेको डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ ।

डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा छ । काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ । यसैगरी, पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा डकुमेन्ट्रीमा समेटिएको छ । आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदा समेत सोनिसको उद्दारमा खटिएका सिपाही केसी र उनको परिवारका मर्मलाई पनि डकुमेन्ट्रीमा बेजोड रुपमा उतारिएको छ ।

यसैगरी, धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईँ, काठमाडौँको नयाँ बसपार्कबाट १ सय १२ घण्टापछि सकुशल उद्दार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनाल, काठमाडौँको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्री, भूकम्प आएपछि आफ्नै घरको आँगनको इनारमा पुरिएपछि जीवितै उद्दार गरिएकी भक्तपुरकी ७५ बर्षीया शिवकुमारी खागी, आफ्नै बाबुले सिकाए अनुसार भूकम्प आएपछि खाटमुनि छिरेर जीवन गुमाएकी नुवाकोट तुप्चेकी उत्सना शर्मा र काठमाडौँको काभ्रेस्थलीमा छिमेकीको घरले किच्दा एउटा खुट्टा गुमाएकी मकवानपुरकी प्रिया बिकको पीडादायी कथालाई डकुमेन्ट्रीमा समेटिएको छ ।

यसैगरी, भूकम्पमा परेकालाई जीवितै उद्दार गरेर वाहवाही कमाएका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउनु पर्दा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० साल र २०७२ सालका दुई ठूला भूकम्प देखेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा उतारिएको छ ।