मेलम्ची, १० भदौ । सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट र लोकप्रिय हेलम्बु मेलम्ची घ्याङ शेर्माथान पर्यटकीय पदमार्ग सुनसान बनेको छ ।
भूकम्पका कारण पदमार्गका विभिन्न ठाउँमा गएका ठूलाठूला पहिरोका कारण र भूकम्पले धाँजा फाटेको ठाउँमा अविरल वर्षाका कारण पहिरो जान थालेपछि पदमार्ग सुनसान बनेको हो ।
पटकपटक पदमार्ग क्षेत्रको तिम्बु–शेर्माथान र मेलम्ची नगरपालिकाको फट्टेलगायतका ठाउँमा पहिरो गएपछि पदमार्गमा अहिले कोही पनि पर्यटक नभेटिने हेलम्बु गाविसका सहायक सचिव आङदावा शेर्पाले जानकारी दिनुभयो ।
मेलम्ची –शेर्माथान–लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै रसुवा पुग्ने पदमार्गमा अहिले पर्यटकनै भेटिँदैनन् ।
भूकम्प जानुभन्दा अघि शेर्माथान गाउँमा बास बस्ने दिनमा १० जनासम्म पर्यटक हुन्थे तर आजभोलि एक जना पनि नहुने किउल गाविसका सचिव राजु श्रेष्ठले बताउनुभयो ।
पहिलेको तुलनामा भूकम्पपछि आन्तरिक पर्यटकबाहेक बाह्य पर्यटक नआउँदा होटल व्यवसायी निरास बनेका छन् ।
स्मरणीय छ मेलम्चीबाट शेर्माथान–लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै रसुवासम्म पुग्ने पदमार्ग जिल्लाकै पुरानो र लोकप्रिय पदमार्ग हो । रासस















प्रतिक्रिया