काठमाडौं, १० भदौ । नेपाली काँग्रेसका सभासद् रामचन्द्र पौडेलले नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा लिखित संविधान शीघ्र मुलुकले पाओस् भन्ने चाहना व्यक्त गरेका बताउँदै जनचाहनाअनुसार संविधानको मस्यौदा तयार गरिएको स्पष्ट गर्नुभयो ।
केही नेताले कोठामा बसेर मस्यौदा गरेको भन्ने आक्षेप लगाउनेहरूप्रति लक्ष्यित गर्दै उहाँले त्यसो भन्नुभएको हो । समस्या भएका केही विषयमा शीर्ष नेताले निष्कर्ष निकालेको पनि उहाँले प्रष्ट पार्नुुभयो ।
संविधानको परिमार्जित विधेयकले लोकतन्त्रका मूल्यमान्यतालाई समावेश गरेको र सबै वर्ग, जाति, पीडित, उत्पीडित समुदायलाई स्थान दिएको, प्रगतिशील व्यवस्था निर्माणलाई जोड दिएको बताउनुभयो ।
“लोकतन्त्र, समावेशीताका आधारभूत मूल्य र मान्यतालाई विधेयकले आत्मसात् गरेको छ, सीमाङ्कन अन्तिम होइन, प्रस्तावित आयोगले सही ढङ्गले अन्तिम टुङ्गो लगाउनेछ” – उहाँले भन्नुभयो ।
मुलुकको उन्नति, आर्थिक विकास, बेरोजगारीको अन्त्य आजको आवश्यकता भएको दोहो¥याउँदै उहाँले भविष्यका पुस्तालाई स्थायित्व, शान्ति र सुशासनको प्रत्याभूत गराउने भएकाले विचलित नभई जनताले स्वागत गर्ने संविधान जारी गर्नैपर्छ भन्नुभयो ।
राज्यको मूलधारमा मधेसी, महिला र दलित, जनजाति, मुस्लिम, दलित, पिछडिएका वर्ग सबैलाई समेट्ने गरी विधेयकमा रहेका कमीकमजोरी सच्याउँदै जसरी पनि संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । रासस















प्रतिक्रिया