९ कार्तिक २०८३, सोमबार

‘जसरी पनि संविधान जारी गर्नुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansadकाठमाडौँ, १० भदौ । संविधानसभाको आजको बैठकमा पनि ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी छ ।

छलफलमा भाग लिने सबै सभासद्ले जस्तोसुकै कठिन परिस्थिति उत्पन्न भएपनि संविधान निर्माणको मूल लक्ष्यबाट विमुख हुन नहुने बताउनुभयो ।

उहाँहरूले जसरी पनि संविधान जारी गर्नुपर्छ भन्दै संविधान निर्माणका क्रममा र त्यसलाई लिएर सिर्जना भएका समस्या पनि समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँहरूले सीमाङ्कनको विषयलाई लिएर विभिन्न जिल्लामा जारी विरोध प्रदर्शन र आन्दोलनलाई वार्ताको माध्यमबाट छिटो सम्बोधन गरी सबैको भावना समेटेर समयमा नै संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

सामाजिक सद्भाव कायम गर्नुपर्ने, एउटै मुलुकमा बस्नुपर्ने भएकाले मारकाट गरेर होइन आपसी प्रेम र सद्भाव कायम गर्दै नेपालको विविधतामा एकता र शान्तिप्रेमी विशेषतालाई खण्डीकृत गर्न नहुनेमा पनि उहाँहरूले जोड दिनुभयो ।

सभासद्हरुले प्रदेशको सीमाङ्कन गर्दा पहिचान र सामथ्र्यलाई आधार बनाउनुपर्ने, महिला, दलित, मधेसी, थारुलगायत पछाडी पारिएका सबैको अधिकार सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।

सभासद्हरुले नागरिकतामा समानता कायम गरिनुपर्ने, धर्म र राजनीति मिसाउनु नहुने, गुणस्तरीय शिक्षाको व्यवस्था प्रस्तावनामा राखिनुपर्ने, जनताले उठाएका जायज माग सम्बोधन गर्न आयोग गठन गरेर समस्या समाधान गर्न सकिने बताउनुभयो ।

परिमार्जित विधेयकले सबैको माग र चाहनालाई सम्बोधन गर्न नसके पनि संविधान संशोधन गर्न सकिने र थप गर्नुपर्ने विषयपछि पनि समेट्न सकिने भएकाले जनताका अधिकार नगुम्ने गरी ढिलो नगरी संविधान जारी गर्नुको विकल्प नभएको उहाँहरुले बताउनुभयो ।

नेपाली काँग्रेसका सभासद् रामचन्द्र पौडेलले नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा लिखित संविधान शीघ्र मुलुकले पाओस् भन्ने चाहना व्यक्त गरेका बताउँदै जनचाहनाअनुसार संविधानको मस्यौदा तयार गरिएको स्पष्ट गर्नुभयो ।

केही नेताले कोठामा बसेर मस्यौदा गरेको भन्ने आक्षेप लगाउनेहरूप्रति लक्ष्यित गर्दै उहाँले त्यसो भन्नुभएको हो । समस्या भएका केही विषयमा शीर्ष नेताले निष्कर्ष निकालेको पनि उहाँले प्रष्ट पार्नुुभयो ।

संविधानको परिमार्जित विधेयकले लोकतन्त्रका मूल्यमान्यतालाई समावेश गरेको र सबै वर्ग, जाति, पीडित, उत्पीडित समुदायलाई स्थान दिएको, प्रगतिशील व्यवस्था निर्माणलाई जोड दिएको बताउनुभयो ।

“लोकतन्त्र, समावेशीताका आधारभूत मूल्य र मान्यतालाई विधेयकले आत्मसात् गरेको छ, सीमाङ्कन अन्तिम होइन, प्रस्तावित आयोगले सही ढङ्गले अन्तिम टुङ्गो लगाउनेछ” – उहाँले भन्नुभयो ।

मुलुकको उन्नति, आर्थिक विकास, बेरोजगारीको अन्त्य आजको आवश्यकता भएको दोहो¥याउँदै उहाँले भविष्यका पुस्तालाई स्थायित्व, शान्ति र सुशासनको प्रत्याभूत गराउने भएकाले विचलित नभई जनताले स्वागत गर्ने संविधान जारी गर्नैपर्छ भन्नुभयो ।

राज्यको मूलधारमा मधेसी, महिला र दलित, जनजाति, मुस्लिम, दलित, पिछडिएका वर्ग सबैलाई समेट्ने गरी विधेयकमा रहेका कमीकमजोरी सच्याउँदै जसरी पनि संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही दलका सभासद् दीपक गिरीले सीमाङ्कनका विषयमा विज्ञहरुसँग छलफल गरेर टुङ्ग्याउनुपर्नेमा दलका नेताहरुको चाहनामा सीमा निर्धारण गरिएकाले समस्या सिर्जना भएको बताउनुभयो ।

राप्रपा (नेपाल)का सभासद् सुशीलकुमार श्रेष्ठले संविधान मस्यौदा सबै शक्तिको सहमति र सम्झौताको दस्तावेज भनिए पनि मुख्य शक्तिलाई नै बेवास्ता गरिएको गुनासो गर्नुभयो ।

नेकपा (एमाले)का सभासद् भरतमोहन अधिकारीले संविधान लोकतान्त्रिक भए पनि राज्यको सीमाङ्कन विज्ञहरुको सुझावका आधारमा गरिएको भए समस्या हुँदैनथ्यो भन्नुभयो । उहाँले संविधान जारी भएको छ महिनाभित्र स्थानीय निर्वाचन गर्ने प्रतिबद्धता संविधानमा नै किटान गर्नुपर्ने बताउनुभयो ।

परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिने सभासद्मा नागेन्द्रप्रसाद थारु, रवीन्द्र अधिकारी, बलराम अधिकारी, प्रेमबहादुर गिरी, गणेशमान गुरुङ, तारादेवी राई, राजेन्द्रप्रसाद पाण्डे, अनिता देवकोटा, किरण यादव, वसुन्धरा रोकाया, तुलबहादुर गुरुङ, हीराबहादुर केसी, दुलारी हरिजन, राधेश्याम अधिकारी हुनुहुन्थ्यो । उक्त विधेयकमा छलफल जारी छ । रासस