बैतडी, ९ भदौ । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी मंगलबहादुर शाहीले बिना रसिद सेवा ग्राहीबाट पाँच हजार असुलेको सार्वजनिक भएपछि सञ्चारकर्मीहरुको एक टोली प्रशासन पुग्दा रकम फिर्ता गरेका छन् ।
संस्था नवीकरण गर्न जिल्ला प्रशासन पुगेकी स्नेही महिला जागरण केन्द्रकी कोषाध्यक्ष बेलु क्षेत्रीबाट बिना रसिद सहायक प्रमुख जिल्ला अधिकारी शाहीले पाँच हजार रुपियाँ लिएको सार्वजनिक भएपछि उनले रकम फिर्ता गरेका हुन् ।
संस्था नवीकरण गर्दा बैंकमा मौज्दात रकमको स्थानीय अधिकारीले ३ प्रतिशत लिन सक्ने भन्दै पैंसा लिएको हो । ‘पाँच हजार लिएको रसिद माग्दा सहायक प्रमुख जिल्ला अधिकारी मंगलबहादुर शाहीले रसिद सकिएको भन्ने जवाफ दिए, फाँटबाट पाँचसयको मात्र रसिद दिएका थिए,’ स्नेही महिला जागरण केन्द्रकी कोषाध्यक्ष क्षेत्रीले भनिन् ।
क्षेत्रीलाई दिईएको रसिदमा एक ठाउँमा पाँच सय र तल पाँच हजार लेखेर केरमेट गरिएको पाईएको छ । संस्था नवीकरण गर्दा संस्थाको बैंकमा मौज्दात भएको रकमको ३ प्रतिशत माग्ने गरेको तर, रसिद नदिने गरेको संस्थाहरुले बताएका छन् ।
संस्था नवीकरणका लागि प्रशासन पुगेको अर्को संस्था महिला उत्थान समाजबाट पनि मंगलवार रकम मागेको थियो ।
दबावपछि उक्त संस्थाबाट रकम नलिएको बताईएको छ । संस्था दर्ता ऐन २०३४ अनुसार संस्था नवीकरण गर्न ५ सय रुपैंया मात्र शुल्क लिँदै आएको जिल्ला प्रशासनमा बसेर २५ वर्षको अनुभव बटुलेका दत्तराम बडुले बताए । रकम लिएको विषयमा सहायक प्रमुख जिल्ला अधिकारी शाहीले स्थानीय अधिकारी भएकाले आफ्नो अधिकार प्रयोग गरी रकम लिएको बताए ।
रकम लिएपछि सम्बन्धित फाँटका कर्मचारी अनुपस्थित भएकाले रसिद दिन नसकिने भन्दै रकम फिर्ता गरेको हो । रकम फिर्ता गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले माफी मागेका थिए । ऐनमा संस्थाको लेखा सम्बन्धी स्थानीय अधिकारीलाई शंका लागेमा अधिकृतलाई तोकेर छानबिन गर्न सक्नेछ ।
कुनै संका लागेमा मौज्दात रकमको ३ प्रतिशत असुल गर्न सकिने प्रावधान छ । तर, शाहीले कुनै छानबिन नगरी रकम लिएका हुन । रकम लिन थालेपछि स्थानिय संस्थाहरुले एक सातादेखि नवीकरण गराउन सकेका छैनन ।















प्रतिक्रिया