काठमाडौँ, ८ भदौ । सुदूरपश्चिमाञ्चल क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका नेकपा (एमाले)का सभासद्ले कैलालीको टीकापुरमा सोमबार भएको बर्बर र आततायी घटनाको घोर भत्र्सना गर्नुभएको छ ।
उहाँहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी सो हिंसात्मक घटनाको योजना बनाउने, आक्रमणको नेतृत्व गर्ने र हत्यामा संलग्न अपराधीलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
जघन्य आक्रमण र हत्याको योजना हुँदा पनि रोकथामको योजना नबनाउने, समयमै आवश्यक निर्णय नगर्ने स्थानीय प्रशासन तथा सुरक्षा निकायका पदाधिकारीलाई पनि छानबिनको दायरामा ल्याउन गृह मन्त्रालयसँग सभासद्ले माग गर्नुभएको छ ।
निर्मम आक्रमणमा परी ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । मृतकका परिवारलाई तुरुन्तै राहत उपलब्ध गराउन, घाइतेको निःशुल्क उपचार तथा कैलाली जिल्लामा सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन पनि सभासदले माग गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, “अविलम्ब संविधान जारी गर्दै दिगो शान्ति र आर्थिक समृद्विको बाटोमा अघि बढ्न सम्पूर्ण देशभक्त एवम् लोकतन्त्रवादी समुदायमा हार्दिक आह्वान गर्दछौँ ।”
एमालेका नेता कार्यकर्ता कैलाली जिल्लाका थारु समुदायलगायत सबै उत्पीडित समुदायको हक हित र अधिकारको लागि काम गर्दै आएको र भविष्यमा पनि त्यसका लागि कटिबद्ध रहेको विज्ञप्तिमा उहाँहरुले उल्लेख गर्नुभएको छ ।
सो क्षेत्रका सभासद्ले आज यहाँ आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले कैलाली जिल्लाबासीलाई एकता, सम्मान र सद्भाव कायम गर्न आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो,“ देश संविधान जारी गर्ने महत्वपूर्ण चरणमा रहेको संवेदनशील घडीमा संयम अपनाउन, सामाजिक सद्भाव कायम राख्न तथा आफ्ना जायज मागहरुलाई शान्तिपूर्ण रुपमा राख्न सम्बन्धित सबै पक्षसँग हार्दिक आग्रह गर्दुछ ।”
संयुक्त विज्ञप्ति जारी गर्ने सभासदहरुमा कर्ण थापा, गरिमा शाह, गणेश ठगुन्ना, प्रेम आले, मोहनसिंह राठौर, गौरी वली, मानप्रसाद खत्री, दामोदर भण्डारी, भरत साउद, लालबहादुर रावल, अफिलाल ओखेडा, पेम्बा भोटे गुरुङ, बसुन्धरा रोकाय, ज्ञानु गैरे र रवनी चौधरी हुनुहुन्छ । रासस












प्रतिक्रिया