१३ मंसिर २०८३, आइतबार

मलेसिया प्रकरणमा तीन पूर्वमन्त्रीको हस्ताक्षर भेटिएन, मन्त्रिस्तरको निर्णयमा पनि अर्यालको हस्ताक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क उठाएर विदेश पठाइएको प्रकरणमा सरकारी कागजातले अनुसन्धानलाई नयाँ मोड दिएको छ। लामो समयदेखि हराएको भनिएको श्रम मन्त्रालयको सक्कली फाइल फेला परेपछि तत्कालीन मन्त्री र सचिवहरूको भूमिकाबारे नयाँ तथ्य बाहिर आएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानसँग जोडिएको उक्त फाइलमा तत्कालीन श्रममन्त्री रामेश्वरराय यादव र तत्कालीन श्रमसचिव एकनारायण अर्यालको हस्ताक्षर भेटिएको स्रोतले जनाएको छ। तर पूर्वश्रममन्त्री शेरबहादुर कुँवर, डोलप्रसाद (डीपी) अर्याल र शरदसिंह भण्डारीको हस्ताक्षर भने फाइलमा नरहेको बताइएको छ।

मन्त्रीस्तरबाट भएको भनिएको निर्णयमा समेत तत्कालीन सचिव अर्यालकै हस्ताक्षर भेटिएपछि निर्णय प्रक्रियामा उनको भूमिकामाथि अनुसन्धान केन्द्रित भएको छ। यही कारण तीन पूर्वमन्त्रीलाई तत्कालका लागि राहत मिल्ने देखिएको छ।

अनुसन्धान स्रोतका अनुसार पक्राउ परेका पूर्वमन्त्री कुँवरलाई थप प्रमाण नदेखिए सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर हाजिरी जमानीमा छाड्ने तयारी छ। उनको कार्यकालमा पाँचपटक मलेसिया रकम पठाइएको देखिए पनि त्यसका लागि नयाँ मन्त्रीस्तरीय निर्णय भएको प्रमाण फेला परेको छैन। मन्त्रालयले राष्ट्र बैंकलाई रकम पठाउन पत्राचार गरे पनि सम्बन्धित फाइलमा कुँवरको हस्ताक्षर नरहेको बताइएको छ।

अनुसन्धानमा देखिएको विवरणअनुसार मलेसिया रकम पठाउने सुरुवाती निर्णय तत्कालीन श्रममन्त्री रामेश्वरराय यादवको कार्यकालमा भएको थियो। उनले २०७६ र २०७७ सालको अवधिमा तीनपटक रकम पठाउने निर्णय गरेको कागजात भेटिएको स्रोतको दाबी छ।

त्यसपछि श्रमसचिव बनेका एकनारायण अर्यालको कार्यकालमा पनि रकम विदेश पठाउने प्रक्रिया अघि बढेको देखिएको छ। उनी २०७८ मंसिर १५ देखि २०८० जेठ २९ सम्म श्रमसचिव थिए। यही अवधिमा भएका निर्णय र रकम स्थानान्तरणमा उनको हस्ताक्षर रहेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

यता, शरदसिंह भण्डारी श्रममन्त्री रहेका बेला २०८० वैशाखदेखि माघसम्म विभिन्न चरणमा मलेसिया रकम पठाइएको थियो। डीपी अर्याल दोस्रोपटक श्रममन्त्री बनेपछि २०८१ वैशाख र जेठमा पनि रकम विदेश गएको अनुसन्धानबाट खुलेको छ। तर उनीहरूको कार्यकालमा रकम पठाइए पनि निर्णयमा मन्त्रीहरूको हस्ताक्षर रहेको प्रमाण फेला नपरेको सीआईबी स्रोतको भनाइ छ।

यसअघि श्रम मन्त्रालयबाट सम्बन्धित फाइल नै हराएपछि रकम विदेश पठाउने निर्णय कसले र कुन आधारमा गरेको थियो भन्ने विषय अन्योलमा परेको थियो। मन्त्रालयले फाइल खोजीका लागि कार्यदल बनाएर विभिन्न शाखाका अभिलेख तथा कागजात जाँच गरेपछि सक्कल प्रति फेला परेको हो। उक्त फाइल सीआईबीलाई बुझाइएपछि त्यसमा रहेका हस्ताक्षर र निर्णयका आधारमा अनुसन्धान अघि बढाइएको छ।

मलेसिया रोजगारी प्रकरणमा पूर्वश्रममन्त्री रामेश्वरराय यादव र शेरबहादुर कुँवरसहित ११ जना हाल हिरासतमा छन्। तत्कालीन श्रमसचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो। ठगी र सङ्गठित अपराधसम्बन्धी कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ।

यसका अतिरिक्त तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका पूर्वप्रमुखहरू उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलगायतको भूमिकासमेत अनुसन्धानको दायरामा रहेको छ।

स्वास्थ्य परीक्षणका नाममा प्रतिश्रमिक १०० रिङ्गिट असुली

नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ गते भएको श्रम सम्झौताअनुसार नेपाली श्रमिकको स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले बेहोर्नुपर्ने व्यवस्था थियो। सम्झौतामा श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा थप शुल्क लिने प्रावधान थिएन।

तर मलेसियाको रोजगारी प्रक्रियामा समस्या परेको भन्दै नेपाली श्रमिकबाट प्रतिव्यक्ति १०० रिङ्गिट अतिरिक्त रकम उठाउन थालिएको अनुसन्धानमा देखिएको छ। काठमाडौंमा सञ्चालित ३६ वटा स्वास्थ्य संस्थाको सञ्जालमार्फत उक्त रकम संकलन गरिएको थियो।

संकलित रकम माइक्रोटेक कम्पनी हुँदै मलेसियास्थित बेस्टिनेट कम्पनीको खातामा पठाइएको अनुसन्धानबाट खुलेको छ। यही रकम संकलन, स्थानान्तरण र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ।