१३ मंसिर २०८३, आइतबार

कांग्रेसले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं। नेपाली कांग्रेसले स्थगित जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तोकेको छ ।

कांग्रेस सभापति गगन थापाले आइतबार जिल्ला र प्रदेश अधिवेशनको मिति घोषणा गरेका छन् । जसअनुसार हिमाली जिल्लामा मंसिर २४ र २५ गते गर्ने तयारी गरिएको छ । हिमपातको सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाको अधिवेशन मंसिरमै सम्पन्न गर्ने तयारी गरिएको सभापति थापाले बताए ।

शनिबार पार्टीको केन्द्रीय निर्वाचन समितिसँग यसबारे छलफल गरिएको उनले उल्लेख गरे । हिमाली जिल्लाका सभापतिहरूसँगको छलफलपछि मात्र अधिवेशनको मिति औपचारिक रूपमा घोषणा गरिने उनले स्पष्ट पारे ।

पहाडी तथा तराईका जिल्लामा भने आउँदो पुस ४ र ५ गते अधिवेशन गर्ने कांग्रेसको तयारी छ । सम्बन्धित जिल्लाका कार्यसमितिहरूसँग छलफल गरेपछि अधिवेशनको मिति घोषणा गरिने थापाले बताए ।

कांग्रेसका प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ । सभापतिसहित केन्द्रीय नेतृत्व प्रदेश अधिवेशनमा सहभागी हुने भएकाले फरक–फरक मितिमा सम्पन्न गर्ने तयारी गरिएको उनले बताए ।

कांग्रेसले सुरुमा असोज १६–१९ सम्म केन्द्रीय महाधिवेशन गर्ने र त्यसअघि जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो । तर पार्टीभित्रको विवाद र बाढीपहिरो प्रभावित जिल्लाको अवस्थाका कारण तल्लो तहको अधिवेशन पटक–पटक सार्दै अन्ततस् केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय गर्‍यो ।