रौतहट । नेपाल–भारत सीमा हुँदै हात्तीको दाह्रा तस्करी भइरहेको आशंकाबीच भारतीय सुरक्षा निकायको संयुक्त टोलीले बिहारमा ठूलो परिमाणमा हात्तीको दाह्रा बरामद गरेको छ ।
नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाको नरकटियागञ्जमा हात्तीको दाह्रा तस्करीविरुद्ध गरिएको कारबाहीमा चार जना पक्राउ परेका छन् ।
डाइरेक्टरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डीआरआई) र शिकारपुर प्रहरीको संयुक्त टोलीले जयमंगलापुर गाउँस्थित एक पेट्रोल पम्प नजिक छापा मारेर शनिबार हात्तीका चारवटा दाह्रा बरामद गरेको हो । बरामद दाह्राको कुल तौल १९ किलो ३९० ग्राम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कारबाहीका क्रममा घटनास्थलबाट चार जना तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेकाहरूको सम्बन्ध बिहारको राजधानी पटना, भोजपुर र पश्चिम चम्पारण जिल्लासँग रहेको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार बरामद हात्तीका दाह्रा नेपालबाट तस्करी गरी भारत पुर्याइएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
अनुसन्धान प्रभावित हुनसक्ने भन्दै भारतीय प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना सार्वजनिक गरेको छैन ।
घटनापछि अनुसन्धान निकायले हात्तीको दाह्रा तस्करीमा संलग्न सम्भावित गिरोह, यसको सञ्जाल तथा अन्य व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान अघि बढाएको छ ।
वन्यजन्तु संरक्षणका दृष्टिले प्रतिबन्धित हात्तीको दाह्राको अवैध कारोबार नियन्त्रण गर्न गरिएको यस कारबाहीलाई महत्त्वपूर्ण मानिएको छ ।
प्रहरीले बरामद दाह्राको स्रोत र नेपाल हुँदै भारतसम्म पुर्याइएको भनिएको तस्करी मार्गबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।











प्रतिक्रिया