१२ मंसिर २०८३, शनिबार

भिक्टोरियामा १२ वर्षपछि लेबर पार्टी सत्ताबाट बाहिरियो, जेस विल्सन नयाँ प्रिमियर बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको निर्वाचनले लामो समयदेखि कायम लेबर पार्टीको शासनलाई अन्त्य गरिदिएको छ ।

शनिबारको निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले बहुमततर्फको सफलता हासिल गरेपछि ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नेतृत्व सम्हाल्ने तयारीमा छिन् ।

निर्वाचन परिणामसँगै सन् २०१४ देखि लगातार तीनपटक सरकार बनाएको लेबर पार्टी विपक्षमा पुग्ने भएको छ । यसअघि सन् २०१० मा एक कार्यकाल सरकार चलाएको लिबरल–नेसनल गठबन्धन १२ वर्षको अन्तरालपछि पुनः सत्तामा फर्किएको हो ।

नयाँ नेतृत्वमा आउन लागेकी विल्सन भिक्टोरियाकी ५१ औं प्रिमियर बन्नेछिन् । ३६ वर्षमै राज्यको सर्वोच्च कार्यकारी पदमा पुग्न लागेकी उनी भिक्टोरियाको इतिहासमा सबैभन्दा कम उमेरकी प्रिमियर बन्ने भएकी छन् । साथै, अस्ट्रेलियाली महासंघ स्थापना भएयताकै सबैभन्दा कम उमेरमा राज्यको नेतृत्व गर्ने नेताका रूपमा उनको नाम दर्ता हुने भएको छ ।

निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा लेबर पार्टीका नेता तथा वर्तमान प्रिमियर बेन क्यारोलले आफ्नो हार स्वीकार गरेका छन् । उनले विल्सनलाई फोन गरेर बधाई दिँदै सत्ता हस्तान्तरणको बाटो खुला गरेका हुन् ।

क्यारोलका लागि निर्वाचन परिणाम व्यक्तिगत रूपमा पनि निराशाजनक बनेको छ । उनी आफ्नै निर्वाचन क्षेत्र निड्रीमा पराजित भएका छन् ।

करिब पाँच दशकदेखि लेबर पार्टीको प्रभाव रहेको उक्त क्षेत्रमा उनको हारलाई पार्टीका लागि थप चुनौतीका रूपमा हेरिएको छ । पदमा रहँदै आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुने उनी भिक्टोरियाका पहिलो प्रिमियर बनेका छन् ।

पराजयपछि प्रतिक्रिया दिँदै क्यारोलले निर्वाचन परिणामको जिम्मेवारी आफूले लिने बताएका छन् । मतदाताले नेतृत्व परिवर्तनको चाहना व्यक्त गरेको स्वीकार गर्दै उनले आगामी चार वर्ष विपक्षमा रहेर जनताको विश्वास पुनः हासिल गर्ने प्रयास गर्ने बताएका छन् । यस परिणामले भिक्टोरियाको राजनीतिमा नयाँ अध्याय सुरु गरेको छ ।

१२ वर्षसम्म विपक्षमा रहेको लिबरल–नेसनल गठबन्धन अब जेस विल्सनको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रियामा अघि बढ्नेछ ।