इटहरी । गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने बताएका छन् । उनले आगामी मंसिर १७ गते विवाह गर्न लागेको जानकारी दिँदै विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताए ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५ औं केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गुरुङले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । उनले आफ्नो विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे ।
‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु । आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु ।’
गुरुङले विवाहका लागि गोरखा रोज्नुको कारण आफ्नो पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्य रहेको बताए । आफूले अहिले आफ्नो खुसीका लागि मात्रै नभई आगामी पुस्तालाई आफ्नो इतिहास र पहिचान हस्तान्तरण गर्न पनि परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ ।
‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई छैन। आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने ।
उनले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए । ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने मानसिकता गलत भएको उनको धारणा छ ।
‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन । दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो । त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।
गृहमन्त्री गुरुङले आफ्नो विवाहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुने जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्न नसक्ने पनि बताए । पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था भए पनि त्यसो नगरी परम्परागत शैलीमा विवाह गर्ने आफ्नो र हुनेवाला श्रीमती दुवैको इच्छा रहेको उनले सुनाए ।
उनले गोरखाको उक्त स्थानलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना समेत औँल्याए । आफ्नो विवाहले गाउँघरका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने चाहना रहेको उनको भनाइ थियो ।
‘एउटा गृहमन्त्री भएको समयमा पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला । तर, आफ्नो समुदाय र गाउँठाउँको पहिचान पनि जोगिनुपर्छ । त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस्, पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास होस् भन्ने मेरो चाहना छ,’ उनले भने ।
विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए । यद्यपि, समारोहलाई निकै सीमित र सामान्य बनाउने उनको योजना छ ।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्याएको योगदान पनि स्मरण गरे । आफू सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ र हौसला दिएको भन्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति आभार व्यक्त गरे ।
उनले विगतमा काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालले दिएको साथ कहिल्यै बिर्सन नसक्ने बताए । सात महिनासम्म चलेको आन्दोलनमा पूर्वका नागरिकले निरन्तर साथ दिएको स्मरण गर्दै उनले पूर्वी क्षेत्र आफ्नो मनमा विशेष स्थानमा रहेको उल्लेख गरे ।
आफू अप्ठ्यारोमा पर्दा विभिन्न आरोप र आलोचनाबीच पनि गुरुङ समुदायले साथ दिएको उनको भनाइ थियो । उनले आफ्नो समुदायले सिकाएको देशप्रेमको पाठलाई आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्ने बताए ।
‘आफ्नो पार्टीको झण्डाभन्दा देश माथि छ भन्ने पाठ हाम्रो समाजले सिकाएको छ । मेरो कठिन समयमा साथ दिने सम्पूर्ण गुरुङ समाजप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
गृहमन्त्री गुरुङले देशमा सुशासन र समृद्धिका लागि सरकार आवश्यक परे जुनसुकै हदसम्म जान तयार रहेको पनि बताए । नागरिकको सुरक्षा र देशको हितका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘नागरिकको सुरक्षाका लागि सुधन गुरुङ तयार छ ।’











प्रतिक्रिया