१२ मंसिर २०८३, शनिबार

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ । यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ ।

‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा भारतका प्रख्यात मुटु शल्यचिकित्सक तथा मेदान्ता अस्पताल समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक पद्मभूषण डा. नरेश त्रेहान प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए । उनले मुटु उपचारमा कृत्रिम बौद्धिकताको प्रयोगसम्बन्धी ‘एआई इन कार्डियाक केयर’ विषयमा प्रस्तुति दिएका थिए ।

त्यसैगरी, मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा. अरविन्द कुमारले छाती शल्य चिकित्सासम्बन्धी आधुनिक प्रविधि र उपचार पद्धतिबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रा. डा. रमेश कोइराला र डा. सम्पूर्णमान तुलाधरले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

किस्ट शिक्षण अस्पताल र मेदान्ताबीचको सहकार्यले नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको अस्पतालले जनाएको छ । यस सहकार्यमार्फत नेपाली बिरामीले किस्ट शिक्षण अस्पतालबाटै मेदान्ताका अनुभवी विशेषज्ञ चिकित्सकसँग दोस्रो चिकित्सकीय राय (सेकेन्ड मेडिकल ओपिनियन) तथा दूरचिकित्सा सेवा (टेलिमेडिसिन कन्सल्टेसन) लिन सक्ने सुविधा उपलब्ध छ ।

यस सुविधाले जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता, समय र खर्च न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ ।

किस्ट शिक्षण अस्पतालले आधुनिक उपचार पूर्वाधार, विशेषज्ञ चिकित्सकीय सेवा तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँगको सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।