काठमाडौं । लेबनान–इजरायल युद्धविराम लागू भएको दुई वर्ष बितिसक्दा पनि युद्ध पूर्णरूपमा रोकिएको छैन ।
इजरायली हवाई आक्रमण र विस्तार हुँदै गएको ‘येलो लाइन’का कारण दक्षिणी लेबनानका करिब ६५ वटा बस्ती लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् भने स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कनसमेत असमर्थ भएका छन् ।
सन् २०२४ नोभेम्बर २७ मा युद्धविराम सम्झौता औपचारिक रूपमा लागू भएको थियो । तर, त्यसपछि पनि हिंसात्मक गतिविधि रोकिएन । यस वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो स्तरको सैन्य कारबाही सुरु गरे । इरानको प्रमुख क्षेत्रीय सहयोगीका रूपमा रहेको लेबनानको सशस्त्र समूह हिजबुल्लाहले मार्च २ को साँझ उत्तरी इजरायलतर्फ रकेट प्रहार गर्न थालेपछि इजरायलले लेबनानको राजधानी बेरुत र दक्षिणी लेबनानमा हवाई आक्रमण सुरु गर्यो ।
यसै वर्षको मे महिनामा इजरायली सेनाले पुनः दक्षिणी लेबनानमा आक्रमण गर्यो । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार यस वर्ष अक्टोबर २० सम्म दक्षिणी लेबनानका करिब ६५ वटा बस्ती लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् र त्यहाँ पुग्न समेत कठिन भएको छ ।
लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति सेना (युनिफिल)ले यसै महिना सार्वजनिक गरेको प्रतिवेदनमा निरन्तर जारी सैन्य कारबाही तथा आवासीय भवन र पूर्वाधारमा भएको व्यापक क्षतिका कारण स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कन नसकेको जनाएको छ ।
दक्षिणी लेबनानको टायर क्षेत्रस्थित हिनियाह गाउँका ६२ वर्षीय अहमद अबुस गाउँ प्रमुख हुन् ।
उनले आफ्नो घरको पहिलो तलामा रहेको बैठक कोठालाई कार्यालयमा परिणत गरेका छन् । जहाँबाट उनी दैनिक गाउँका कामकाज सञ्चालन गर्नुका साथै स्थानीय बासिन्दाका विभिन्न कागजातसम्बन्धी काम गर्छन् ।
लेबनान र इजरायलबीच विगतमा भएका विभिन्न चरणका द्वन्द्वका क्रममा हिनियाह गाउँ पटक–पटक इजरायली हवाई आक्रमणको निशानामा परेको थियो । जसका कारण गाउँमा ठूलो क्षति पुगेको छ ।
‘वास्तवमा हाम्रो गाउँका करिब ६० प्रतिशत घर हवाई आक्रमणमा ध्वस्त भएका छन् । अहिले गाउँका करिब ३० प्रतिशत बासिन्दा मात्रै फर्किएका छन्,’ उनले भने ।
अबुसका अनुसार अझै पनि धेरै गाउँले आफ्नो घर फर्कन सकेका छैनन् ।
यस वर्ष मार्चमा पुनः युद्ध सुरु भएपछि आफ्ना सामान लिन तीन जना गाउँले ज्यानको जोखिम मोलेर गाउँ फर्किएका थिए । तर, उनीहरू इजरायली हवाई आक्रमणमा परी दुःखद रूपमा मारिए ।
यस द्वन्द्वमा गाउँ प्रमुखको जस्तै सबैको घर सुरक्षित रहन वा पुनर्निर्माण हुन सकेको छैन ।
कुनै समय दुई तले सानो भवनका रूपमा रहेको उनको घर इजरायली सेनाको आक्रमणबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।
अहिले त्यहाँ बाहिर निस्किएका र बाङ्गिएका फलामका छड तथा पानीका पाइपहरू र विगतमा त्यहाँ मानिसहरूको जीवन रहेको प्रमाण दिने केही भग्नावशेष मात्रै बाँकी छन् ।
द्वन्द्वका क्रममा आईडीएफले सन् २००० मा संयुक्त राष्ट्रसंघले निर्धारण गरेको लेबनान र इजरायलबीचको सीमारेखा ‘ब्लु लाइन’बाट निरन्तर उत्तरतर्फ आफ्नो नियन्त्रण विस्तार गर्दै दक्षिणी लेबनानका गाउँहरूलाई योजनाबद्ध रूपमा एकपछि अर्को गर्दै ध्वस्त पारिरहेको छ ।
पहाडी क्षेत्रका वनस्पति नष्ट भएका छन् भने अधिकांश घरहरू भत्काइएका छन् । यसका कारण स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कन असमर्थ भएका छन् ।
यता, पहाडपारिबाट आईडीएफको तोपखानाको निरन्तर गडगडाहट सुनिने गरेको छ ।
दक्षिणी लेबनानको टायर क्षेत्रको दक्षिणमा अवस्थित मान्सुरी इजरायली आक्रमणबाट सबैभन्दा बढी प्रभावित गाउँहरूमध्ये एक हो ।
यस तटीय गाउँका घर, विद्यालय, अस्पताललगायत अन्य भवनहरूमा समेत ठूलो क्षति पुगेको छ ।
यस वर्ष मे महिनामा लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायलले दक्षिणी लेबनानमा ‘स्कच्र्ड अर्थ पोलिसी’ अर्थात् ‘जलेको जमिनको नीति’ लागू गरिरहेको आरोप लगाएका थिए । उनले इजरायलले सहर तथा गाउँहरू ध्वस्त पार्दै बासिन्दाहरूलाई आफ्नो घर छाड्न बाध्य बनाएको बताएका थिए । सीसीटीभीप्लस











प्रतिक्रिया