११ मंसिर २०८३, शुक्रबार

इनमको निवेदन- विमानस्थलबाटै आँखामा पट्टी बाँधेर लगियो, नेताहरूविरुद्ध बयान दिन दबाब दिइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएर विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब र धम्की दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसँग जीवनरक्षाको माग गरेका छन्।

शुक्रबार उनकी पत्नी कविता पाण्डेले सापकोटाका तर्फबाट आयोगमा निवेदन दिएकी हुन्। निवेदनमा पक्राउदेखि अनुसन्धानका क्रममा आफूले भोगेको भनिएका दुर्व्यवहार, मानसिक दबाब र परिवारलाई समेत धम्की दिइएको विषय उल्लेख गरिएको छ।

सापकोटाका अनुसार गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। विदेश जान बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचमा पुगेका बेला मोबाइल खोसेर गाडीमा राख्दै आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको उनको दाबी छ।

निवेदनमा उनले भनेका छन्,’बार्डिङ पास लिएर अन्तिम सुरक्षा जाँच स्थलमा पुग्दा प्रहरीले मलाई त्यहाँबाट नियन्त्रणमा लिई मसँग भएको दुई वटा मोबाइल फोन खोसेर लिई विमानस्थलबाट निकाली गाडीमा राखी आँखामा पट्टी लगाई लिएर गएका थिए,’। त्यसपछि आफूलाई दुई दिनसम्म अज्ञात स्थानमा राखेर सोधपुछ गरिएको सापकोटाको भनाइ छ। सो क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका परिवारका सदस्य तथा विभिन्न राजनीतिक र व्यावसायिक क्षेत्रका व्यक्तिहरूविरुद्ध बयान दिन दबाब दिइएको उनले निवेदनमा उल्लेख गरेका छन्।

उनका अनुसार पूर्वप्रधानन्यायाधीश जबरा, उनका भाइ र छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण तथा बयान दिन भनिएको थियो। त्यसो नगरे आफू र परिवारलाई समस्या पार्ने चेतावनी दिइएको उनको आरोप छ।

निवेदनमा सापकोटाले उल्लेख गरेका छन्,’सोधपुछको क्रममा तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उनका भाइ तथा छोरा, राजनीतिक दल नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, हिमालय होटलका नविन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमानहरूविरुद्ध प्रमाण र बयान दिए छाडी दिने नत्र म मात्रै हैन, मेरो परवारलाई समेत नराम्रो हुन्छ भनी धम्की दिइयो,’।

आफूले पटकपटक परिवारसँग सम्पर्क गर्न आग्रह गरे पनि अनुमति नदिइएको र दबाबका बाबजुद कसैविरुद्ध बयान दिन नमानेको उनले बताएका छन्। त्यसपछि झुटा मुद्दामा लामो समय जेल हाल्ने तथा परिवारको सुरक्षामै खतरा पुर्‍याउने भन्दै मानसिक यातना दिइएको उनको दाबी छ।

उनले निवेदनमा भनेका छन्,’मैले नमान्दा निजहरूले लामो समयसम्म जेल बस्ने गरि झुटा मुद्दा लागउने, मेरो तथा मेरो परिवारकै जिउ ज्यानमै खतरामा पार्ने र सम्पूर्ण घरपरिवारलाई नै समस्या हुने भनी मानसिक यातना दिइरहे,’।

सापकोटाका अनुसार पछि आफूलाई धेरै कुरा बोल्न नपर्ने भन्दै तयार पारिएको कागज पढ्न लगाइएको थियो। आँखाको पट्टी केही माथि सारेर अरूले सुन्ने गरी पढ्न भनिएको र त्यसको रेकर्डिङ गरिएको उनको भनाइ छ। तर, आफूलाई जानकारी नभएको विषय समेटिएको कागजमा हस्ताक्षर गर्न भनेपछि अस्वीकार गरेको उनले उल्लेख गरेका छन्।

यससम्बन्धी निवेदनमा उनले भनेका छन्,’ तत्पश्चात निजहरूले धेरै कुरा बोल्न पर्दैन, हामीले यहाँ लेखेको कुरा पढ्नुस्। अनि यसमा तपाईको सहमति भए कागज गराई छोडीदिन्छौं भनि एकातिरको आँखाको पट्टीमाथि सारी सबैले सुन्ने गरी पढ्नुस् भनेकाले मैले सोही बमोजिम पढेको थिए,’।

पछि सार्वजनिक भएको अडिओलाई आधार बनाएर प्रहरीले आफूलाई थप सोधपुछ गरेको पनि सापकोटाको दाबी छ। आवाज आफ्नै जस्तो सुनिए पनि त्यसमा भनिएका विषय सम्झना नभएको बताउँदा बयान लिइएको र अहिले सोही अडिओका आधारमा बयान दिन दबाब दिइरहेको उनले आरोप लगाएका छन्।

आफू र परिवारको सुरक्षामा खतरा रहेको भन्दै सापकोटाले आयोगलाई घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। अनुसन्धानका क्रममा प्रमाण सिर्जना गर्ने तथा सामग्री बाहिर सार्वजनिक गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनअनुसार कारबाहीका लागि सिफारिस गर्न पनि उनले माग गरेका छन्।

निवेदनमा भनिएको छ,’गोपनीयताको हकलाई समेत हनन गर्ने गरी नियोजित रुपमा ममाथि गैरकानुनी कार्य गरिरहेकाले संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कारबाही गरि पाउँ। मेरो र मेरो परिवारको जिउ ज्यानको रक्षा गरि पाउँ,’।

त्यस्तै, अनुसन्धानसँग सम्बन्धित सामग्री र प्रमाण बाहिर चुहाउने तथा झुटा प्रमाण तयार पार्ने कार्यमा संलग्नमाथि छानबिन गर्न पनि उनले आयोगसमक्ष माग गरेका छन्। ‘अनुसन्धानका प्रमाणहरू र सो सम्बन्धी सामग्रीहरू एवं झुटा प्रमाण सिर्जना गर्ने र बाहिर चुहाउने अनुसन्धानमा कार्यरत तथा अन्य सम्बन्धित व्यक्तिहरू समेत उपर अनुसन्धान गरी कानुन बमोजिम सजायको लागि सिफारिश गरि पाऊँ,’।