–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य रौता पोखरी पुग्ने सडक निर्माणले गति लिने भएको छ । रौता पोखरीलाई सडक सञ्जालमार्फत सहज रूपमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको रानीबास–रौता पोखरी–रसुवाघाट सडकको दोस्रो प्याकेजका लागि कोशी प्रदेश सरकारले १० करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति प्रदान गरेको छ ।
त्रियुगा नगरपालिका–१५ डहरदेखि रौतामाई गाउँपालिका हुँदै रौता पोखरी जोड्ने उक्त सडकको बाँकी खण्ड निर्माणका लागि आर्थिक वर्ष २०८३/०८४ मा खर्च गर्ने गरी स्रोत सहमति प्राप्त भएको हो ।
रौता पोखरीसम्मको सडकलाई पूर्णता दिने उद्देश्यले कोशी प्रदेश सभा उपसभामुख सृजना दनुवारले प्रदेश सरकारसमक्ष निरन्तर पहल गर्दै आएकी थिइन् । उनको पहल र पूर्वाधार विकास कार्यालय उदयपुरको प्राविधिक प्रक्रियापछि दोस्रो प्याकेजका लागि १० करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति प्राप्त भएको कार्यालय प्रमुख गंगासागर यादवले जानकारी दिए । यसअघि उक्त सडक निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ५० लाख र २०८१/०८२ मा ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट आवागमनमा अत्यन्त कठिनाइ रहेका स्थानमा सडक ढलान तथा नाली निर्माणको काम गरिएको थियो ।
सडक निर्माणको पहिलो प्याकेजअन्तर्गत रानीबास–डहर–रौतामाई खण्डका लागि १५ करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति प्राप्त भएपछि ठेक्का प्रक्रिया अघि बढाइएको थियो । उक्त प्याकेजको निर्माणको जिम्मा अधिकारी डिएमबी एमआर जेभी सिन्धुलीले ८ करोड १७ लाख रुपैयाँमा पाएको छ ।
निर्माण कम्पनीसँग २०८२ पुस १७ गते सम्झौता भएको उक्त योजनाअन्तर्गत २०८४ पुस १६ गतेभित्र नालीसहित ३ हजार ४ सय मिटर सडक कालोपत्रे सम्पन्न गर्नुपर्नेछ ।
पहिलो प्याकेजको काम अघि बढेसँगै बाँकी करिब ४ किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय उदयपुरले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी मन्त्रालयमा पेस गरेको थियो । सोही प्रतिवेदनका आधारमा दोस्रो प्याकेजका लागि १० करोड रुपैयाँको स्रोत सहमति प्राप्त भएको उपसभामुख दनुवारले बताइन् ।
दोस्रो प्याकेजको निर्माण प्रक्रिया अघि बढाउने तयारीस्वरूप शुक्रबार उपसभामुख दनुवारसहित पूर्वाधार विकास कार्यालयका प्रमुख, इन्जिनियर तथा प्राविधिक टोली, त्रियुगा नगरपालिका–१५ का वडाध्यक्ष र रौतामाई गाउँपालिका–६ का वडाध्यक्षले सडकको स्थलगत निरीक्षण समेत गरेका छन् ।
पूर्वाधार विकास कार्यालयका अनुसार दोस्रो प्याकेजको निर्माणका लागि मंसिर महिनाको अन्तिम सातातिर ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ ।
सडक निर्माण सम्पन्न भएपछि जिल्ला सदरमुकाम गाईघाटबाट रौता पोखरीसम्मको यात्रा सहज हुने अपेक्षा गरिएको छ । धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका कारण परिचित रौता पोखरीसम्मको पहुँच विस्तार हुँदा पर्यटकको आवागमन बढ्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहजता आउने र समग्र क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने विश्वास गरिएको छ ।
वर्षौंदेखि कठिन सडक यात्राको सामना गर्दै आएका स्थानीयबासीका लागि समेत यो आयोजना महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि बढेसँगै रौता पोखरीसम्म सहज सडक पहुँच विस्तार हुने अपेक्षा थप बलियो बनेको छ ।











प्रतिक्रिया