काठमाडौं । गत भदौ १० गते भोटेकोशी आएको बाढीले क्षति पुर्याएको क्षेत्रमा स्थानीयले पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम जारी राखेका छन् । बाढीले बंगुर, बाख्रा तथा कुखुरापालन फार्ममा क्षति पुर्याएपछि हराएका पशुका अवशेष खोज्न स्थानीय सक्रिय भएका हुन् ।
स्थानीय फूलबहादुर तामाङले भदौ १० गते आएको बाढीले क्षति पुर्याएका क्षेत्रमा पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम भइरहेको बताए । उनले वडाबाट ३० जनाको समिति गठन गरी बाढी प्रभावित क्षेत्रमा खोजी तथा सरसफाइको काम भइरहेको बताए ।
उनले बाढीले क्षति पुर्याएका बंगुर तथा बाख्रा फार्महरूमा पुगेर पशुका हड्डी तथा अवशेष खोज्ने र भेटिएका अवशेषलाई खाल्डो खनेर गाड्ने काम भइरहेको जानकारी दिए । हालसम्म दुई ठाउँमा पशुका हड्डी भेटिएको र ती सबै व्यवस्थापन गरिसकिएको उनको भनाइ छ ।
उनले बाढीका कारण जंगल आसपास तथा माथिल्लो गाउँका स्थानीयले सञ्चालन गरेका बाख्रा र बंगुर फार्ममा ठूलो क्षति पुगेको बताए । स्थानीयले जीविकोपार्जनका लागि आठ–दश वटासम्म बाख्रा र दुई–चार वटासम्म बंगुर पाल्दै आएका थिए। तर बाढीले फार्म तथा पशुपालन व्यवसायमा क्षति पुर्याउँदा उनीहरूको आम्दानीको स्रोत नै गुमेको उनले बताए ।
तामाङका अनुसार बाढीपछि स्थानीय कृषकले सडक र खानेपानीको समस्या भोगिरहेका छन् । बाढीले बाटो भत्काउनुका साथै खानेपानीका मुहान तथा सिँचाइका संरचना पुरिएका कारण पानीको अभावसमेत भएको छ ।
बाढी आउनुअघि स्थानीयले खेतबारीमा तरकारीलगायत खेती गर्दै जीविकोपार्जन गरिरहेका थिए । तर बाढीले खेतीयोग्य जमिन र उत्पादन बगाएपछि अहिले तत्काल आम्दानी गर्ने माध्यम नरहेको उनले बताए ।
स्थानीय सरकारले सडक तथा आवतजावत सहज बनाउने कामलाई प्राथमिकता दिए पनि प्रभावित परिवारका लागि तत्काल आयआर्जनको वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘माथिल्लो गाउँमा बसिरहेका मानिसहरूका लागि फेरि कमाएर खाने वातावरण बनाउन सकियो भने राम्रो हुन्थ्यो। हामीले काम सुरु गरेको १०–१५ दिन भइसक्यो। अझै १०–१५ दिनसम्म खोजी तथा व्यवस्थापनको काम गर्नुपर्ने अवस्था छ ।’
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा पशुका अवशेष खोज्ने र व्यवस्थापन गर्ने काम अझै जारी छ ।
यसैगरी, कृषबहादुर तामाङले भदौ १० गतेको बाढीले क्षति पु¥याएका क्षेत्रमा पशुका अवशेष खोज्ने काम जारी रहेको बताए ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा खोजी तथा छानबिन गरिएको छ । केही ठाउँमा पशुका हड्डी तथा अवशेष भेटिए पनि कतिपय स्थानमा भने अहिलेसम्म केही फेला परेको छैन । भेटिएका स्थानमा अवशेष पहिचान गर्ने र व्यवस्थापन गर्ने प्रयास भइरहेको उनले बताए ।
तामाङका अनुसार बाढी आउनुअघि उक्त क्षेत्रमा बंगुर तथा कुखुरापालनका फार्महरू सञ्चालनमा थिए । जलविद्युत् आयोजनामा काम गर्ने टोलीसमेत बस्ने गरेको उक्त क्षेत्रमा पसल तथा पशुपालन फार्महरू रहेका थिए ।
उनले आफ्नो अनुमानमा उक्त क्षेत्रमा दुईदेखि चार वटासम्म बंगुर तथा कुखुराका फार्म रहेको बताए। बाढीले ती फार्महरूमा ठूलो क्षति पु¥याएपछि अहिले हराएका पशुका अवशेष खोज्ने काम भइरहेको उनको भनाइ छ ।
खोजीका क्रममा कुनै स्थानमा हड्डी भेटिएको र कुनै स्थानमा नभेटिएको भन्दै उनले सम्पूर्ण क्षेत्रको खोजी पूरा नभएसम्म प्रयास जारी राख्ने बताए। हड्डीबाहेक अन्य सामग्री वा अवशेष भने अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए ।
















प्रतिक्रिया