१० मंसिर २०८३, बिहिबार

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारलाई सिफारिस गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले उक्त निर्णय गरेको हो। सिफारिसमा ४८ जिल्लाबाट विवरण प्रमाणीकरण भएका ३ हजार २९२ नेपाली र १९ वटा विदेशी नियोगबाट यकिन गरिएका ६२३ विदेशी नागरिक समेटिएका छन्।

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा ३० मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार समितिले आवश्यक प्रक्रिया अघि बढाउन सरकारसमक्ष सिफारिस गरेको हो।

बेपत्ता व्यक्तिको विवरण यकिन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना जारी गरी दाबी पेस गर्न आह्वान गरेको थियो। नेपाली नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो। विदेशी नागरिकको विवरण भने सम्बन्धित देशका नेपालस्थित वा नेपाल हेर्ने जिम्मेवारी पाएका कूटनीतिक नियोगबाट प्राप्त सूचीका आधारमा प्रमाणीकरण गरिएको हो।

बैठकले विपद् व्यवस्थापनसँग सम्बन्धित अन्य नीतिगत निर्णयसमेत गरेको छ। समितिले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ स्वीकृत गरेको छ। उक्त मार्गचित्रमार्फत २०८७ सालसम्म देशका सबै समुदायमा विभिन्न प्रकारका विपद्को पूर्वसूचना पुर्‍याउने लक्ष्य राखिएको छ। यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनमा जोड दिइनेछ।

त्यस्तै, वन डढेलोको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि राष्ट्रिय रणनीति, २०८३ र त्यससम्बन्धी कार्ययोजना २०८३र८४ देखि २०९१र९२ सम्मका लागि स्वीकृत गरिएको छ। वायु प्रदूषणबाट उत्पन्न हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्ययोजना २०८३–२०८७ लाई पनि बैठकले अनुमोदन गरेको छ।

बैठकले जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने निर्णयसमेत गरेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका र माला गाउँका २४ घरधुरी तथा वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई सोही पालिकाभित्रका सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ।

यसैगरी, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई फुदवाङ र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई फिलिम गाउँमा स्थानान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ।