काठमाडौं । भारतको समाजवादी पार्टी (एसपी)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
संविधान दिवसको अवसर पारेर बिहीबार लखनउमा आयोजित एक कार्यक्रममा पार्टीका प्रमुख अखिलेश यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
पार्टीले आफ्नो नयाँ घोषणापत्रमार्फत रोजगारी, सामाजिक सुरक्षा, किसानहरूका लागि आर्थिक सहयोग र महिला सशक्तीकरणलाई आफ्नो चुनावी एजेन्डामा प्राथमिकता दिएको छ ।
घोषणापत्रमा युवा, महिला, किसान र कर्मचारीहरूलाई आकर्षित गर्ने उद्देश्यले प्रमुख चुनावी प्रतिबद्धताहरू समेटिएका छन् ।
घोषणापत्रमा युवाहरूका लागि रोजगारीका अवसर तथा बेरोजगारी भत्ता, किसानहरूका लागि ऋण मिनाहा र ग्रामीण क्षेत्रमा निःशुल्क बिजुली उपलब्ध गराउने लगायतका प्रतिबद्धताहरू समावेश छ ।
पार्टीले आफ्नो घोषणापत्रमा २५ लाख युवाहरूलाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसका साथै, बेरोजगार युवाहरूका लागि मासिक ५,००० रुपैयाँ बेरोजगारी भत्ता दिइने जनाएको छ । साथै, सहयोगी शिक्षकहरूलाई नियमित शिक्षक सरहकै तलब उपलब्ध गराउने वाचा पनि गरेको छ ।
यस्तै, पार्टीले घोषणापत्रमा ग्रामीण क्षेत्रमा ३०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने र कृषि ऋण मिनाहा गर्ने प्रतिबद्धता गरेको छ । पार्टीले यसअघि नै महिलाहरूलाई वार्षिक ४०,००० रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने तथा स्त्री समृद्धि योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइसकेको छ । यसका साथै, पार्टीले कर्मचारीहरूका लागि ‘पुरानो पेन्सन योजना’ पुनः लागू गर्ने, आउटसोर्सिङ प्रणाली खारेज गरी स्थायी नियुक्तिलाई प्राथमिकता दिने र भर्ना प्रक्रियामा आरक्षणको पूर्ण लाभ सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।











प्रतिक्रिया