रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको विकृति, असहयोग र निष्क्रिय संगठनात्मक प्रवृत्ति अन्त्य गर्दै सुशासन, निष्ठा र स्पष्ट राजनीतिक दृष्टिकोणका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले आगामी महाधिवेशनलाई लक्षित गरी कागजी संगठनभन्दा क्रियाशील संगठन निर्माणमा जुट्नुपर्ने बताए ।
बिहीबार भैरहवामा सम्पन्न राप्रपा लुम्बिनी प्रदेश कार्यसमितिको शपथग्रहण कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनमा हारजीत स्वाभाविक प्रक्रिया भए पनि पराजित भएपछि विजयी नेतृत्वलाई असहयोग गर्ने प्रवृत्ति पार्टीका लागि घातक हुने बताए । यस्तो राजनीतिक संस्कार नयाँ पुस्ताले अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।
आफू झापा जिल्ला अध्यक्षमा दुई पटक र केन्द्रीय सदस्यमा दुई पटक पराजित भए पनि निरन्तरको प्रयासबाट पार्टीको केन्द्रीय अध्यक्ष बन्न सफल भएको उदाहरण दिँदै उनले भने, ‘एउटा चुनाव हार्दैमा राजनीति सकिँदैन र एउटा चुनाव जित्दैमा वाहवाही हुने पनि होइन ।’ प्रतिस्पर्धापछि पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने उनले बताए ।
लिङ्देनले विगतमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारसमेत नपाउने अवस्था रहेको र भोट बैंकका लागि मात्र पार्टी कमिटी बनाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अब वास्तविक रुपमा सक्रिय संगठन निर्माण गर्नुपर्नेमा जोड दिए ।
आगामी महाधिवेशनको तयारीसँगै पार्टीलाई अनुशासित, व्यवस्थित र जनतासँग जोडिएको बनाउनुपर्ने उनको भनाइ थियो ।
राप्रपाले आफ्नो विचार र एजेन्डालाई स्पष्ट रुपमा अघि बढाउन सके देशको राजनीतिमा बलियो विकल्प बन्न सक्ने दाबी गर्दै उनले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिले पार्टीका एजेन्डालाई थप सान्दर्भिक बनाएको बताए ।
राजनीतिलाई पद, पारिवारिक रवाफ र व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले इमानदारी, निष्ठा र सेवाभावलाई राजनीतिको आधार बनाउनुपर्ने बताए ।
आफूले लामो राजनीतिक जीवनमा भ्रष्टाचार नगरेको दाबी गर्दै उनले भ्रष्टाचारविरुद्ध कठोर अडानसहित पार्टी निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता तथा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि पार्टीभित्रको दुविधा, अनुशासनहीनता र नेतृत्वविरुद्धको अनावश्यक विरोध अन्त्य गरी एकताबद्ध हुनुपर्ने बताए ।
प्रधानले राप्रपा एक सिटबाट १४ सिटसम्म पुगेर राष्ट्रिय पार्टी बन्न सफल भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनको नेतृत्वले पार्टीलाई राजनीतिक पहिचान र सम्मान दिलाएको बताए । पार्टीलाई कमजोर बनाउने गतिविधि र नेतृत्वप्रति भ्रम फैलाउने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।
महाधिवेशनको सन्दर्भमा बोल्दै उनले पार्टीको विधि र प्रक्रियाअनुसार प्रतिस्पर्धा गर्न सबैलाई आग्रह गरे । महाधिवेशन प्रतिनिधि भएकाहरूले निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने भए पनि प्रक्रियाबाहिरबाट पार्टीलाई कमजोर बनाउने वा फुटाउने गतिविधि गर्न नहुने उनले चेतावनी दिए ।
‘नेतृत्वलाई गालीगलौज गरेर भ्रम सिर्जना गर्नुअघि ऐनामा आफ्नै अनुहार हेर्नुपर्छ,’ प्रधानले भने ।
पाँच वर्षसम्म जिल्ला नजाने तर नेतृत्वको आलोचना गर्ने प्रवृत्तिले संगठन बलियो नहुने उनको टिप्पणी थियो । लुम्बिनी प्रदेशमा विगतमा पार्टीले राम्रो चुनावी परिणाम हासिल गरेको स्मरण गर्दै उनले एकता, अनुशासन र प्रतिबद्धताका साथ अघि बढे पार्टीका एजेन्डा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण गरेका थिए । उनीहरुलाई पार्टीको नवनिर्वाचित अध्यक्ष मेनुका खाँण क्षेत्रीले शपथ ग्रहण गराएकी थिइन् ।











प्रतिक्रिया