काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउँदा गैरकानुनी रूपमा रकम असुलिएको प्रकरणको अनुसन्धानमा आवश्यक सरकारी कागजात प्रहरीले प्राप्त गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नभेटिएको भनिएका महत्त्वपूर्ण फाइल बिहीबार प्रहरीको जिम्मामा पुगेका हुन्।
श्रमिकबाट स्वास्थ्य परीक्षण र बायोमेडिकल सेवाको नाममा प्रतिव्यक्ति थप १०० मलेसियन रिंगेट उठाएर मलेसिया पठाइएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा निर्णय प्रक्रियासँग जोडिएका सक्कल कागजात उपलब्ध नहुँदा प्रहरीलाई आवश्यक तथ्य जुटाउन कठिनाइ भएको थियो।
प्रहरीले रकम विदेश पठाउने विषयमा भएका चारवटा मन्त्रीस्तरीय निर्णयका फाइल खोजी गरेको थियो। तर मन्त्रालयमा ती कागजात फेला नपरेपछि अनुसन्धान प्रभावित भएको थियो। यस प्रकरणको छानबिनका लागि गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनसमेत उपलब्ध हुन सकेको थिएन।
प्रहरी स्रोतका अनुसार मन्त्रालयका कर्मचारीले अनुसन्धानका लागि आवश्यक कागजात उपलब्ध गराएपछि ती फाइल प्रहरीको पहुँचमा आएका हुन्। फाइल प्राप्त भएसँगै रकम विदेश पठाउने निर्णय कसरी भयो, त्यसको आधार के थियो र प्रक्रियामा को–को संलग्न थिए भन्ने विषयमा थप अनुसन्धान गर्न बाटो खुलेको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्राप्त कागजातको अध्ययनपछि प्रकरणका थप पक्ष स्पष्ट हुनेछन्। प्रहरीले अबको करिब १५ दिनभित्र अनुसन्धान टुंग्याउने लक्ष्य राखेको स्रोतको भनाइ छ।
सीआईबीको अनुसन्धानले म्याक्रोटेक कम्पनीमार्फत नेपाली श्रमिकबाट रकम संकलन गरी मलेसियास्थित बेस्टिनेट कम्पनीमा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ पठाइएको देखाएको छ। उक्त रकम एकैपटक नभई विभिन्न चरणमा विदेश पठाइएको अनुसन्धानबाट खुलेको हो।
यो प्रकरणमा तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरका कार्यकालमा भएका मन्त्रीस्तरीय निर्णयसमेत अनुसन्धानको दायरामा छन्। दुवै पूर्वमन्त्रीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।
मन्त्रालयबाट प्राप्त फाइलले रकम संकलन र विदेश पठाउने प्रक्रियामा भएका निर्णय तथा त्यसमा संलग्न पदाधिकारीको भूमिकाबारे थप तथ्य खुलाउन सक्ने प्रहरीको अपेक्षा छ।











प्रतिक्रिया