१० मंसिर २०८३, बिहिबार

प्रधानमन्त्रीको भारत भ्रमणबारे भीम रावल– स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्ता स्वार्थका लागि विगतमा लम्पसार पर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता रावलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा देशको हितविपरीत सम्झौता भएको भन्दै सत्ता स्वार्थका लागि विदेशीसामू लम्पसार पर्ने प्रवृत्ति विगतको जस्तै दोहरिएको टिप्पणी गरेका हुन् ।

उनले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिइने गरी १९५० को सन्दर्भको प्रावधान ब्युँताइएको आरोप लगाउँदै सरकार तथा प्रधानमन्त्रीसँग जवाफ माग गरे । भारतको सुरक्षासम्बन्धी निकायले तालिम–प्रशिक्षणका नाममा नेपाल प्रहरीभित्र भूमिका पाउने गरी प्रधानमन्त्रीले सम्झौता गरेको उनको भनाइ छ ।

नेता रावलले नेपालको देशभक्ति कुनै देशको विरोधमा नभई आफ्नै हितमा आधारित हुनुपर्ने उल्लेख गरे । उनले भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाइएको भन्दै सरकारको आलोचना गरे ।

उनले दुई जना पूर्वश्रममन्त्रीको गिरफ्तारीको प्रसंगमा रास्वपाका नेता पनि जोडिँदा किन कानुन आकर्षित नभएको भन्दै प्रश्न गरे । सुशासनका लागि कानुन मान्ने, विधिबाट चल्ने र मौलिक अधिकारको सम्मान गर्ने पहिलो दायित्व प्रधानमन्त्री, सरकार र गृह मन्त्रालयको रहेको उनको भनाइ छ ।