काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका काठमाडौं उपत्यकाका सुकुम्बासीलाई शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्र (बोडे) मा व्यवस्थापन गरिएकाहरूको हकमा सरकारले शनिबारसम्मको म्याद दिएको हो । प्रशासनको सूचनाअनुसार बोडेमा बसोबास गर्ने सात परिवारको नाममा जग्गा भएको फेला परेको बताइएको छ ।
उक्त सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समिति, काठमाडौंको च.न. ४८ मिति २०८३/५/९ को प्राप्त पत्र अनुसार काठमाडौं उपत्यका नदी किनारका जोखिमयुक्त बस्तीमा रहेका परिवारहरू विस्थापित भई कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा रहेका तपसिलमा उल्लेख भएका घरमूली वा निजका परिवारका सदस्यहरूको नाममा भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा स्थानीय पालिकाबाट प्राप्त विवरण अनुसार जग्गा रहेको देखिएकाले भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार भूमिहीन नरहने भएका ७ (सात) परिवार होल्डिङ सेन्टर खाली गर्नू ।’
यस्तै, जग्गा नभएकाको हकमा पनि सेन्टर खाली गर्न भनिएको छ ।
जग्गा हुनेको हकमा भनिएको छ, ‘जग्गा नभएका १२ (बाह्र) परिवारको हकमा सम्बन्धित पालिकाको जग्गा उपलब्ध गराउने प्रयोजनको लागि कारवाही अगाडि बढी निस्सासमेत प्राप्त भएको हुँदा सोको निस्सा लिन भई यस होल्डिङ सेन्टरमा रहेका उपरोक्तानुसार भूमिहीन नरहने भएका र जग्गा खोजिएका सम्पूर्ण व्यक्तिहरूलाई यही मिति २०८३/०५/११ गते १६:०० बजेभित्र होल्डिङ सेन्टर खाली गर्नु हुन सूचित गरिन्छ। जग्गा नभएका परिवारहरूको हकमा नेपाल सरकारले घरभाडा खर्च उपलब्ध गराएको सुविधा समेत बुझिलिन हुन अनुरोध छ ।’












प्रतिक्रिया