म्याग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको जनकल्याण माविमा स्थापित ‘धनेश्वरी–तारानाथ स्मृति कोष’ पत्रकारिता पुरस्कार उनलाई प्रदान गरिएको हो ।
सोमबार विद्यालयमा आयोजित एक समारोहबीच बानियाँलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
बानियाँलाई कोषका संस्थापक सचिव माधवप्रसाद रेग्मी, सदस्य खगेश्वरी सुवदी, बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गाविन्द बानियाँ र विद्यालयका अध्यक्ष खड्कप्रसाद श्रेष्ठले सम्मान प्रदान गरेका थिए ।
स्मृति कोषमार्फत हरेक वर्ष जिल्लाका एक जना साहित्यकार, एक जना पत्रकार र जनकल्याण माविमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिँदै आएको छ ।
कोषले स्थापना गरेको पत्रकारितातर्फको पुरस्कार यसवर्ष बानियाँलाई प्रदान गरिएको हो । साहित्यकारतर्फ म्याग्दी बहुमुखी क्याम्पसका सह–प्राध्यापक रेखाकौशल रेग्मीलाई पनि नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको कोषले जनाएको छ ।
म्याग्दीको बेनी नगरपालिका–५ चिप्लेटी स्थायी घर भएका बानियाँ विगत डेढ दशकदेखि म्याग्दी जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
म्याग्दीको बेनीमा बसेर पत्रकारिता गर्दै आएका बानियाँ नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र नेपाल टेलिभिजनको म्याग्दी संवाददाताको रुपमा रहेका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहसचिव समेत रहेका बानियाँले पत्रकारिता क्षेत्रमार्फत समग्र जिल्लाको पहिचान र विकासमा पुर्याएको योगदानको कदरस्वरुप आफूलाई सम्मान गरेकोमा कोषलाई धन्यवाद दिएका छन् ।











प्रतिक्रिया