काठमाडौं, ८ भदौ । प्रदर्शनकारीको आक्रमणमा परी टीकापुरमा निधन भएका एसएसपी लक्ष्मण न्यौपानेको सिनामंगलस्थित घरमा सोमबार दिउँसो अकल्पनीय सन्नाटा थियो ।
पतिको निधनको खबरले अर्धचेत भएकी न्यौपाने पत्नी अरूणा केएमसीमा उपचारपछि भर्खरै घर फर्किएकी थिइन्।
अनुहारमा गहिरो पीडा थियो। कम्पाउण्ड शुभेच्छुकको भीडले भरिएको थियो। तर कोही बोलिरहेका थिएनन्। सबै मुखामुख मात्र गरिरहेका थिए। शोकको त्यो घडीमा कसैसँग बोल्ने शब्द थिएन ।
अन्नपूर्ण पोष्ट दैनिकले अगाडि लेख्छ, ८४ वर्षीय आमा रसादेविको पीडा अनुहारमै देखिन्थो। घरमा भीड बढ्दै थियो तर न्यौपाने पत्नीलाई शान्तवना दिने शब्द कसैसँग थिएन।
पुर्खौली घर भोजपुर गोगने भएका न्यौपाने परिवार २०२६ सालमा झापाको चन्द्रगढी झरेका थिए। न्यौपानेक २२ वर्षीय छोरा शन्देश र १९ वर्षीय छोरी संयुक्ता छन्।
छोराले इन्चाइरोमेन्ट साइन्समा स्नातकसम्मको पढाइ पुरा गरी बाहिर जाने तयारीमा थिए। छोरी थेम्स कलेजमा बिबिए अध्ययनरत छिन्।
चन्द्रगढीमा भएका भतिजले भने,‘काका एकदमै रमाइला हुनुहुन्थ्यो। सबैलाई केयर गर्नुहुन्थ्यो। केहीदिन अघि मात्र मलाई फोन गरेर घरको सन्चो विसन्चोबारे सोध्नु भएको थियो। उहाँको निधनले मर्माहित भएका छौ।’
५३ वर्षीय न्यौपाने प्रहरी संगठन भित्र कुशल नेतृत्व र विवादरहित व्यक्तिको रूपमा चिनिन्थे।















प्रतिक्रिया