–विमल सुवेदी
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणलाई लिएर सार्वजनिक वृत्तमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । विगतका भ्रमणभन्दा यसपटकको भ्रमण छोटो र केही फरक देखिएको छ । तर भ्रमणको अवधि मात्र उपलब्धि वा असफलताको मापदण्ड होइन । भ्रमणका क्रममा के विषय उठे, के सहमति भए र ती सहमतिले नेपालको राष्ट्रिय हितलाई कति सम्बोधन गरे भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
नेपालका प्रधानमन्त्रीहरू सरकार गठन भएपछि भारत भ्रमणमा जाने परम्पराजस्तै बनेको छ । विगतमा भ्रमणअघि सांसद, संसद् तथा सम्बन्धित निकायबाट सुझाव लिएर जाने अभ्यास पनि थियो । यसपटक त्यो पर्याप्त रूपमा देखिएन । सीमा विवाद, सन् १९५० को सन्धि र असमान व्यापार सन्धिका प्रावधानजस्ता दीर्घकालीन महत्त्वका विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोणसहित छलफल हुनुपर्ने थियो । यसका लागि पर्याप्त गृहकार्य भएन कि भन्ने प्रश्न उठ्नु स्वाभाविक छ ।
भ्रमणका उपलब्धि र त्यसको वास्तविक अर्थ
नेपाल–भारत संयुक्त वक्तव्यको पाँचौँ बुँदामा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास यात्रामा भारतको अटल सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै १५ हजार करोड भारतीय रुपैयाँ (२४ हजार करोड नेपाली रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउने उल्लेख छ । यसअन्तर्गत विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाका लागि ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदान र ऊर्जा क्षेत्रका आयोजनाका लागि ११ हजार ५०० करोड भारतीय रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा उपलब्ध गराइनेछ ।
विपद्पछिको पुनर्निर्माणका लागि अनुदान सहयोग स्वागतयोग्य छ । तर ऊर्जा क्षेत्रको रकम अनुदान नभई ऋण हो भन्ने स्पष्ट हुनुपर्छ । त्यसैले सम्पूर्ण रकमलाई अनुदान वा निःशर्त सहयोगका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन । उक्त ऋणको उपयोगले नेपालको ऊर्जा उत्पादन, प्रसारण र निर्यातमा दीर्घकालीन लाभ दिन सक्छ कि सक्दैन भन्ने कुरा परियोजनाको छनोट, सर्त र प्रतिफलमा निर्भर गर्छ। आर्थिक सहयोगको वास्तविक मूल्य त्यसले नेपाली जनतालाई दिने लाभबाट मापन हुनुपर्छ ।
१५० किलोमिटर क्षेत्रसम्बन्धी चर्चाको वास्तविकता के हो ?
यस भ्रमणसँग जोडेर भारतीय सञ्चारमाध्यममा नेपालको भूभागसँग सम्बन्धित १५० किलोमिटर क्षेत्रको चर्चा भइरहेको छ । कतिपय सञ्चारमाध्यमले यसलाई नेपालले आफ्नो भूमि भारतलाई दिएको वा भारतले खरिद गरेको अर्थ लाग्ने गरी प्रचार गरिरहेका छन् । यहीँनेर गम्भीर प्रश्न उठ्छ– यो १५० किलोमिटर हो कि १५० वर्गकिलोमिटर ? यो भूमि खरिद–बिक्री वा हस्तान्तरणसम्बन्धी सम्झौता हो कि सीमा व्यवस्थापन तथा पूर्वाधार विकाससँग सम्बन्धित प्राविधिक सहमति ? उक्त क्षेत्र नेपाल, भारत, बंगलादेश र भुटानसँग जोडिएको सीमावर्ती भूगोलसँग सम्बन्धित भएकाले त्यहाँ सडक तथा अन्य विकास आयोजना सञ्चालन गर्ने विषयमा भएको सहमतिको वास्तविकता स्पष्ट हुनुपर्छ ।
यदि यस्तो सहमति भएको हो भने त्यसको आधिकारिक विवरण सार्वजनिक गर्नुपर्छ । नभएको हो भने भारतीय सञ्चारमाध्यममा फैलिएको भ्रमबारे नेपाल सरकारले तत्काल स्पष्ट पार्नुपर्छ । नेपालको भूभागसँग जोडिएको विषयमा मौन बस्नु कूटनीतिक सावधानी मात्र होइन, राष्ट्रिय चासोप्रतिको कमजोरी पनि हुन सक्छ ।
सीमा विवादमा ठोस प्रगति खोइ ?
भ्रमणपछि सार्वजनिक भएका विवरणबाट तीनवटा कुरा स्पष्ट हुन्छन् ।
पहिलो, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता लगायतका सीमा विवाद यथावत् छन् । समाधानका लागि ठोस राजनीतिक सहमति भएको देखिँदैन ।
दोस्रो, सीमाक्षेत्रमा नागरिकले भोगचलन गरिरहेको जमिनको वास्तविक अवस्था नापजाँच गर्ने विषयमा सहमति भएको छ । तीन वर्षभित्र प्राविधिक काम पूरा गर्ने लक्ष्य राखिएको बताइएको छ । यो सकारात्मक कदम हुन सक्छ, तर यसलाई नेपालको भूभाग भारतलाई हस्तान्तरण गर्ने सम्झौताका रूपमा व्याख्या गर्नु तथ्य पुष्टि नगरी निष्कर्ष निकाल्नु हुनेछ ।
तेस्रो, संयुक्त वक्तव्यमा सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत काम अघि बढाउने उल्लेख छ । तर ठोस राजनीतिक समाधानको दिशामा कति प्रगति भयो भन्ने प्रश्न भने बाँकी नै छ ।
मित्रता भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ
भारतसँग नेपालको मित्रता र सहकार्य आवश्यक छ । तर मित्रता भनेको एउटा पक्षले माग्ने र अर्को पक्षले दिइरहने सम्बन्ध होइन । यो समानता, पारस्परिक सम्मान र साझा हितमा आधारित हुनुपर्छ ।
ऊर्जा क्षेत्रमा लगानी, बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण र नाकासम्बन्धी पूर्वाधार निर्माण सकारात्मक विषय हुन् । तर नेपालको समग्र व्यापार, पारवहन र आर्थिक आवश्यकतालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । विशेषगरी बंगलादेशसँगको व्यापार तथा पारवहनलाई सहज बनाउन भारतले कस्तो भूमिका खेल्छ भन्ने प्रश्न महत्त्वपूर्ण छ । नेपालको जलविद्युत् उत्पादन र निर्यातमा रहेका अवरोध किन हट्दैनन् ? नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच किन प्राप्त हुँदैन ? नेपालको जायज सीमा विवाद समाधानमा भारतले किन ठोस पहल गर्दैन ? यी प्रश्न पनि द्विपक्षीय सम्बन्धका प्राथमिकतामा पर्नुपर्छ ।
कूटनीतिमा व्यक्ति होइन, राष्ट्रिय नीति प्राथमिक हुनुपर्छ
भारतसँग नेपालको परराष्ट्र सम्बन्धमा एउटा पुरानै समस्या देखिन्छ– सरकार र नेतृत्व परिवर्तनसँगै प्राथमिकता फेरिने प्रवृत्ति । नेपालका राजनीतिक दल र नेताहरूसँग भारतले गर्ने व्यवहारमा पनि कहिलेकाहीँ नीतिभन्दा व्यक्तिलाई प्राथमिकता दिएको देखिन्छ । नेपालको कूटनीतिमा व्यक्ति वा तत्कालीन नेतृत्वको प्राथमिकताभन्दा राष्ट्रिय नीति र दीर्घकालीन हितले प्राथमिकता पाउनुपर्छ । सरकार र नेतृत्व परिवर्तन हुँदैमा छिमेकीसँग भएका सहमति, प्रतिबद्धता र राष्ट्रिय अडान परिवर्तन हुनु हुँदैन ।
कतै वर्तमान प्रधानमन्त्री पनि त्यही प्रवृत्तिको सिकार हुनुभएको त होइन ? यदि त्यसो हो भने हामीले सरकारको प्रशंसा वा आलोचनामा जति समय खर्चिए पनि यथार्थमा भारतले विगतमा झैँ फेरि हाम्रो आँखामा छारो हाल्न सफल भएको ठहरिनेछ ।
भारतसँग भएका सम्झौता र प्रतिबद्धताको कार्यान्वयन इतिहास हेर्दा पनि आशंका गर्ने ठाउँ छन् । उदाहरणका लागि, सन् २०१० मै जनकपुर–बर्दिबास रेलमार्ग निर्माणका लागि नेपालले जग्गा उपलब्ध गराउने र भारतले रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । तर यसको निर्माण र सञ्चालन अपेक्षित गतिमा अघि बढ्न सकेन । त्यस्तै, जलविद्युत् क्षेत्रका कतिपय आयोजनामा भारतले निर्माण वा लगानी गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा ढिलाइ भएका उदाहरण छन् ।
त्यसैले प्रश्न केवल कति सहयोगको घोषणा भयो वा कति सम्झौता भए भन्ने होइन, विगतका प्रतिबद्धता कति पूरा भए भन्ने पनि हो । नयाँ सम्झौता गर्नुअघि पुराना सहमतिको कार्यान्वयन अवस्थाबारे समीक्षा र जवाफदेहिता खोज्नु आवश्यक छ । यस्ता विषय द्विपक्षीय वार्तामा प्रभावकारी रूपमा उठाउन र विगतका सहमतिको समीक्षा गर्न नसक्नु हाम्रो आफ्नै कूटनीतिक कमजोरी हो । आफ्नो राष्ट्रिय हितका विषयमा प्रश्न उठाउन र सहमतिको कार्यान्वयन सुनिश्चित गर्न नसक्ने हो भने सम्झौता थपिँदै जान्छन्, उपलब्धि भने कागजमै सीमित रहन्छन् ।
आजको विश्व व्यापार, लगानी र आर्थिक प्रतिस्पर्धाको युग हो । चिच्याएर होइन, कूटनीतिक तथा राजनीतिक क्षमता प्रदर्शन गरेर आफ्नो राष्ट्रिय हित सुरक्षित गर्ने समय हो ।
भारतले नेपालको विकास र समृद्धिमा सहयात्री बन्न चाहन्छ भने उसको दृष्टिकोण र व्यवहारमा पनि परिवर्तन देखिनुपर्छ । नेपालले पनि आफ्ना राष्ट्रिय प्राथमिकता स्पष्ट पार्दै एकीकृत, संस्थागत र दीर्घकालीन कूटनीतिक धारणा प्रस्तुत गर्न सक्नुपर्छ । मित्रताको वास्तविक परीक्षा भाषण र घोषणामा होइन, प्रतिबद्धताको इमानदार कार्यान्वयनमा हुन्छ ।
प्रधानमन्त्रीज्यू, नेपाली जनताले खोजेको जवाफ
प्रधानमन्त्रीको भ्रमणमा के–के उपलब्धि हासिल भए भन्ने प्रचारभन्दा पनि नेपालको राष्ट्रिय हितका कुन–कुन विषय सुनिश्चित गरेर फर्किनुभयो भन्ने जवाफ नेपाली जनताले खोजिरहेका छन् । नेपाललाई छिमेकीसँग शत्रुता होइन, समानता र पारस्परिक सम्मानमा आधारित मित्रता चाहिएको छ । आर्थिक सहयोग र लगानी स्वागतयोग्य छन्, तर राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताभन्दा माथि कुनै पनि आर्थिक सहायता हुन सक्दैन ।
भारतसँग नेपालको परराष्ट्र सम्बन्धमा स्पष्ट र दीर्घकालीन राष्ट्रिय नीति आवश्यक छ । भारतका आफ्नै सुरक्षा, आर्थिक र रणनीतिक प्राथमिकता छन्, तर ती प्राथमिकता सम्बोधन गर्ने नाममा नेपालको जायज चासो र राष्ट्रिय हित ओझेलमा पर्नु हुँदैन । यसका लागि सत्ता पक्ष र प्रतिपक्षबीच पनि राष्ट्रिय हितका विषयमा साझा धारणा बन्नुपर्छ । हामीलाई छिमेकीसँग शत्रुता होइन, सम्मानपूर्ण मित्रता चाहिएको छ । सहयोग चाहिएको छ, तर स्वाभिमानको मूल्यमा होइन । विकास चाहिएको छ, तर भूगोलको मूल्यमा होइन । नेपालको राष्ट्रिय हित सुनिश्चित गर्ने कूटनीति नै आजको आवश्यकता हो ।
(लेखक सुवेदी (नेपाली कांगेस महासमिति सदस्य) हाल कतारमा रहेका छन् ।)











प्रतिक्रिया