जनकपुर । भारतको अयोध्याबाट नेपालको जनकपुरधाम सरयू कमला एक्सप्रेस रेल आज जनकपुरधाम आइपुगेको छ । करीब ११०० जना यात्रुहरु जनकपुरधाम घुम्न यस रेलमार्फत जनकपुरधाम आइपुगेका हुन् ।
अधिक्तम यात्रुहरु पहिलो पटक जनकपुरधाम आएका छन् । उनीहरुलाई रेल्वे स्टेशनदेखि मन्दिर घुम्नेबेलासम्म जनकपुरवासीले भव्य स्वागत गरे । उनीहरुको स्वागतमा गाजाबाजा, पुष्प वर्षा, माला, खादा, निःशूल्क खाजा र खानाको व्यवस्था गरिएको थियो ।
यात्रुहरुले जनकपुरधामवासीले गरेको स्वागतको प्रशंसा गरेका छन् । लखनउबाट आएका अजित भन्छन्, ‘पुष्प वर्षासहितको भव्य स्वागत अनुभव भयो । भन्नै सकिन्न की अन्तराष्ट्रिय रेल सेवा भनिएपनि जनकपुरधाम आएर आफ्नोपन महशुस भयो । उनका अनुसार यस रेल सेवाले दुबै देशबीच धार्मिक सर्किट स्थापन गरेको छ ।’
उनले अब आउन लागेको विवाहपञ्चमी महोत्सवमा यस रेल सेवाले थप यात्रुहरुलाई जनकपुरधाम आउन सुविधा हुनेछ । यस रेल सेवाले विवाहपञ्चमी महोत्सवलाई थप भव्यता प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै, रक्शौलका रमेश कुशवाहा भन्छन्, ‘यति राम्ररी स्वागत गरिएको छ, हामी फेरि पनि जनकपुरधाम आउनेछौँ ।’ उनले दुबै देशका प्रधानमन्त्रीलाई यस रेलसेवा सुरु गरेकोमा धन्यवाद व्यक्त गरे ।
त्यस्तै, जयनगका रामविनोद सिंह भन्छन्, ‘बारातीलाई स्वागत गरेजस्तै जनकपुरधाममा स्वागत गरियो, धेरै खुसी लागेको छ । यस रेलसेवाले बेटी रोटीको सम्बन्धलाई थप मजबुत बनाएको छ ।’
उनले जानकी माताको मन्दिर दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै, चम्पारणका बब्लु कुमार गुप्ता भन्छन्, ‘जनकपुरवासीले गरेको स्वागत हेर्दा अत्यन्त खुसी लागेको छ । भारतको पहिलो अन्तराष्ट्रिय रेल सेवा भएकोले दुबै देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ । भगवान रामको ससुराली आउन पाउँदा खुसी छु ।’
उनले सम्पूर्ण नेपालीलाई अयोध्या दर्शन गर्न आउनसमते आग्रह गरे । उनले दुबै देशबीच रहेको बेटी रोटीको सम्बन्ध यस रेलसेवाको सञ्चालनले थप मजबुत हुने बताए ।
त्यस्तै, मालगढका कुशाल गोस भन्छन्, ‘फूल मालाले प्रत्येक यात्रुको स्वागत गरिएको छ, धेरै खुसी लागेको छ । उनका अनुसार रेलभित्र खाने, बस्ने, सुत्ने व्यवस्था पनि धेरै नै राम्रो रहेको थियो ।’
उनले रामजन्म भूमिदेखि जानकी जन्मभूमिसम्म सिधा रेल सेवा सञ्चालन हुनुमा गर्व महशुस भएको बताए । त्यस्तै, अयोध्याका हिरालाल साह भन्छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी र बालेन्द्र शाहका कारण आज दुबै देशबीचको सम्बन्ध थप मजबुत भएको छ । अब दुबै देशवासीलाई आवतजावत गर्न सहज हुनेछ ।’
उनले रेलमार्फत जनकपुरधाम आउन धेरै नै सहज भएको सुनाए । जनकपुरधाममा करीब तीन घण्टा बिताएर यात्रुहरु फेरी रेलमा सवार भई फर्किएका छन् । रेल फर्किने क्रममा पनि उनीहरुले हात हल्लाएर जय सीयारामको नारा लगाएका थिए ।











प्रतिक्रिया