सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबारदेखि सुरु भएको पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
कर्णाली रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबले पहिलो हाफमै दुई गोल गरेको थियो । पुलिसका लागि धीरेन्द्र शाहले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा (४६औँ मिनेट) सुजन मगरले दोस्रो गोल गरे ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । त्यसपछि थप गोल हुन नसक्दा नेपाल पुलिस क्लबले २–० को जित दर्ता गरेको हो ।
खेलका क्रममा नेपाल पुलिस क्लबका एक र कर्णाली प्रदेशका दुई खेलाडीले पहेँलो कार्ड पाएका थिए ।











प्रतिक्रिया