–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले २०७९ सालमा निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि चार वर्षको अवधिमा भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाले सीमित स्रोतसाधनका बीच नागरिकका असिमित आवश्यकता सम्बोधन गर्ने प्रयासस्वरूप पूर्वाधार विकासदेखि सामाजिक क्षेत्रसम्म विभिन्न काम सम्पन्न गरेको जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन आयोजना गरी नगरपालिकाले चार वर्षको कार्यकालमा भएका कामको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार नगरपालिकाले सडक पूर्वाधार, विद्युत् विस्तार, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ ।
पूर्वाधार विकासतर्फ नगरपालिकाले १९ हजार ६१५ मिटर सडक कालोपत्रे, ६२९ मिटर सडक ढलान तथा १ लाख ६७ हजार ५४९ मिटर सडक ग्राभेल गरेको जनाएको छ । यस अवधिमा नयाँ सडक ट्र्याक निर्माण, सडक मर्मत, ढल तथा नाली निर्माण, कल्भर्ट र पुल निर्माण, स्वास्थ्य तथा विद्यालय भवन निर्माण र कवर्ड हल निर्माणलगायतका काम गरिएको नगरपालिकाको प्रगति विवरणमा उल्लेख छ ।
विद्युत् तथा उज्यालो विस्तारतर्फ ४६५ वटा विद्युत् पोल, १० वटा ट्रान्सफर्मर, २५ वटा हाईमास्ट लाइट तथा ६८० वटा सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ । सिँचाइतर्फ पनि विभिन्न योजना सञ्चालन गरी कृषि उत्पादनमा सहयोग पुर्याउने प्रयास गरिएको उल्लेख छ ।
नगरपालिकाले पर्यटन प्रवद्र्धन, महिला तथा बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, सामाजिक सुरक्षा, अपाङ्गता परिचयपत्र वितरण तथा सहायक सामग्री उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
त्यसैगरी, उद्यम विकास तथा स्वरोजगार प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, बजार व्यवस्थापन, कृषि तथा पशु विकास, सुरक्षित आप्रवासन र रोजगार सेवा केन्द्र सञ्चालन लगायतका क्षेत्रमा पनि काम गरिएको प्रगति विवरण उल्लेख गरिएको छ ।
न्यायिक समितिमार्फत नागरिकका विवाद समाधानमा समेत काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख कालुमान लामाका अनुसार न्यायिक शाखामा हालसम्म १२० वटा मुद्दा दर्ता भएकामा ८९ वटा फछ्र्योट भएका छन् भने ३१ वटा मुद्दा प्रक्रियामा रहेका छन् ।
नगरपालिकाले स्थानीयस्तरबाटै मालपोत तथा नापीसम्बन्धी सेवा सुरु गरेको विषयलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । वर्षौंदेखि भोगचलन गर्दै आएका ऐलानी तथा प्रति जग्गाको नापजाँच गरी भोगाधिकार प्रमाणपत्र वितरण प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
हालसम्म ५ हजार २०९ जनाको भोगाधिकार प्रमाणपत्र तयार गरिएको र ३४३ जनालाई वितरण गरिसकिएको विवरण उल्लेख गरिएको छ । बाँकी प्रमाणपत्र वितरणसमेत सोमबारदेखि वडा नं. ३ बाट सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
पत्रकार सम्मेलनमा नगरप्रमुख लामाले आफ्नो नेतृत्वमा नगरपालिकाको टोलीले सीमित स्रोतसाधनका बीच नागरिकका अपेक्षा पूरा गर्न निरन्तर प्रयास गरिरहेको बताए । उनले आफ्ना कार्यकालमा भएका कामको विवरण जनतासामु पारदर्शी रूपमा प्रस्तुत गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै बाँकी एक वर्षमा सम्पन्न हुने कामको विवरणसमेत यही प्रगति पुस्तकमा थप गरी कार्यकाल समाप्त भएपछि पुनः सार्वजनिक गर्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत रोशनीदेवी कार्की, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया