काठमाडौँ, ७ भदौ । गृह मन्त्रालयले कैलालीको टीकापुरमा थरुहट प्रदेशको माग गर्ने अनियन्त्रित र अराजक भिडले घरेलु हातहतियारबाट आक्रमण गरी राष्ट्रसेवक प्रहरीको हत्या गरेको जनाएको छ ।
आज साँझ विज्ञप्ति जारी गरी मन्त्रालयले हातमा लाठी, भाला, हँसिया, बन्दुकसमेत हतियार लिई निषेधित क्षेत्र तोड्दै सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी गर्ने ध्ंवसात्मक गतिविधि गर्न लागेकाले प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि लाठी, भालासमेतका हतियार प्रयोग गरी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित चार जना र सशस्त्र प्रहरी बलका दुई जनाको हत्या गरेको जनाएको छ ।
सोही क्रममा आन्दोलनकारीतर्फमेत तीन जनाको मृत्यु भएको भन्ने बुझिन आएको र सो सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । झडपका क्रममा केही व्यक्ति घाइते भएको जानकारीसमेत प्राप्त भएको र घाइतेको उद्धारका लागि तत्काल नेपाली सेनाको हेलिकप्टर काठमाडौँबाट टीकापुर पठाइएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टीकापुर क्षेत्रमा थप हिंसात्मक तथा ध्वंसात्मक कार्य हुन नदिन स्थानीय प्रशासनले आज अपराह्न ४ बजेदेखि पूर्वमा कर्णाली नदी, पश्चिममा नुवा, उत्तरमा पथरैया र दक्षिणमा नारायणपुर गाविसलाई चार किल्ला तोकी दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मन्त्रालयले आफ्नो कर्तव्यपालनका सिलसिलामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कैलाली टीकापुरमा कार्यरत सुरक्षाकर्मीले देखाएको साहसको उच्च मूल्याङ्कन गर्दै दिवङ्गतका शोकसन्तप्त परिवारजनमा समवेदना गरेको छ । रासस















प्रतिक्रिया