काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (सोमबार) नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुने भएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।
भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर, नयाँ परियोजनाको उद्घाटन तथा जनकपुर–अयोध्याबीच सिधा रेल सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री साहले सोमबार भारतीय समकक्षी मोदीसँग द्विपक्षीय संवादमा करिब एक घण्टा बिताउने तालिका छ ।
प्रधानमन्त्री साह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भेटवार्ताका लागि सोमबार बिहान ११ बजे हैदरावाद हाउस पुग्नेछ । पाँच मिनेटको ‘फोटो सेसन’ पछि द्विपक्षीय भेटवार्ता सुरु हुनेछ । भारतले उपलब्ध गराएको कार्यतालिकाअनुसार उक्त भेटवार्ता हैदरावाद हाउसको नीलगिरी हलमा हुनेछ ।
दुईदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री साहले आइतबार ताजमहल होटलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटघाट गरेका थिए । भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री तहमा हुने तीन चरणको वार्तापछि दुई देशबिच समझदारीपत्र आदानप्रदान हुनेछ । त्यसक्रममा विभिन्न ६ वटा परियोजनाको भर्चुअल माध्यमबाट उद्घाटन र शिलान्यास गर्ने तयारी छ । जसमा अयोध्या-जनकपुर रेल सेवा शुभारम्भ तथा दार्चुलामा निर्मित मोटरेबल पुलको उद्घाटन गरिनेछ ।
यसैगरी, भारततर्फ उत्तराखण्डको बनवासामा एकीकृत जाँच चौकी (आईसीपी)को शिलान्यास तथा नेपालतर्फ दोधारा चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माण प्रगतिको अवलोकन दुवै प्रधानमन्त्रीले गर्नेछन् । ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको शिलान्यास र झापामा निर्माण हुने पेट्रोलियम पदार्थ भण्डारण टर्मिनल निर्माणको शुभारम्भसमेत गरिनेछ । साथै, निर्माण सम्पन्न भएको दोस्रो चरणको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना नेपाललाई हस्तान्तरण गरिनेछ ।
परियोजनाको उद्घाटन तथा हस्तान्तरणपछि दुवै प्रधानमन्त्रीले हैदरावाद हाउसमै संयुक्त रूपमा प्रेसलाई सम्बोधन गर्नेछन् ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री साह नेतृत्वको नेपाली टोलीका लागि हैदरावाद हाउसमै दिवा भोजको आयोजना गरेका छन् ।
दुवै पक्षबीच उपहार आदानप्रदान भएपछि प्रधानमन्त्री साह अपराह्न २ बजेर २५ मिनेटमा हैदरावाद हाउसबाट बाहिरिनेछन् ।
मानसिंह रोडस्थित ताजमहल होटलमा केहीबेर विश्राम गरेपछि उनी अपराह्न ३ बजेर १५ मिनेटमा राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्न राष्ट्रपति भवन पुग्ने कार्यतालिका रहेको छ ।











प्रतिक्रिया