काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि विद्युतीय टोल भुक्तानी प्रणाली (एन –ट्याग) सेवा उपलब्ध गराएको छ ।
बैंकले आफ्ना विभिन्न शाखामार्फत एन–ट्यागको बिक्री तथा वितरण सुरु गरेको जनाएको छ । यो प्रणाली जडान गरेपछि सवारीसाधनले टोल बुथमा रोकिएर नगद भुक्तानी गर्नुपर्ने झन्झटबाट छुटकारा पाउनेछन् ।
सवारीसाधनमा एन–ट्याग स्टिकर जडान गरेपछि सुरुङमार्गको टोल शुल्क विद्युतीय माध्यमबाट स्वतः कट्टा हुनेछ । यसले टोल बुथमा हुने भीडभाड र लामो प्रतीक्षा घटाउनुका साथै यात्रुलाई छिटो, सहज र नगदरहित यात्रा गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
एन–ट्याग प्राप्त गर्न इच्छुक सवारीधनीले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बरसहित नजिकैको कुमारी बैंक शाखामा सम्पर्क गर्न सक्नेछन् ।
त्यस्तै, बैंकको वेबसाइटमार्फत एन–ट्यागसम्बन्धी थप जानकारी लिनुका साथै अनलाइन दर्ता प्रक्रिया पनि पूरा गर्न सकिने व्यवस्था गरिएको छ ।
डिजिटल भुक्तानी प्रणाली र आधुनिक बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यअनुरूप उक्त सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । कुमारी बैंकले सुरुङमार्ग प्रयोग गर्ने सम्पूर्ण सवारीधनीलाई एन–ट्याग जडान गरी टोल भुक्तानीलाई सहज र समय बचत हुने बनाउन आग्रह गरेको छ ।











प्रतिक्रिया