काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ सरकार गठन भएपछि जनताले राहत पाउनुको सट्टा थप आर्थिक कठिनाइ भोग्नुपरेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले बजारमा वस्तु तथा सेवाको मूल्य निरन्तर बढिरहेको भन्दै सरकार महँगी नियन्त्रण गर्न असफल भएको आरोप लगाए । दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ निकै महँगिएको उनको भनाइ थियो ।
उनले नयाँ सरकारबाट जनताले परिवर्तन र सहज जीवनको अपेक्षा गरे पनि व्यवहारमा त्यसको अनुभूति गर्न नपाएको बताए ।
‘यो नयाँ सरकार आइसकेपछि, नयाँ भनिनेहरू भनौँ सबैभन्दा पीडा जनतालाई भएको छ,’ पोखरेलले भने, ‘किन भएको छ भने महँगी बढेको बढेई छ। दुई वर्ष अगाडि बजार भाउ के थियो र अहिले दुई वर्षपछि बजार भाउ के छ भनेर हेर्ने हो भने आकाश जमिनको अन्तर छ।’
सरकारको प्रमुख दायित्व जनताको जीवन सहज बनाउनु भए पनि नागरिकले आर्थिक भार खेप्नुपरेको र शासन सञ्चालन गर्नेहरूबाट आश्वासन मात्रै आइरहेको उनको आरोप थियो ।
‘आखिर सरकार भनेको त जनताको सुखको लागि हो नि त। जनताले सबै कुरा गुमाउने अनि शासनमा बस्नेहरूले चमत्कार गरिदिन्छन् भनेर हामी कहिलेसम्म बस्नेरु गर्ने केही पनि होइन, गर्छ कि भनेर मख्ख पारेको छ,’ उनले भने।
कार्यक्रममा महासचिव पोखरेलले सामाजिक सञ्जालको बढ्दो प्रयोगले नेपाली समाजको मौलिकता, संस्कृति र परम्परामा समेत असर पारिरहेको विषय उठाए । मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले परम्परागत मूल्य मान्यता कमजोर बन्दै गएको उनको भनाइ थियो ।
‘हाम्रा परम्परा, हाम्रा मूल्य र हाम्रा संस्कृतिहरू समेत यसले खाइरहेको छ । यो मोबाइलको भाँडोले हाम्रो संस्कृति र सम्पदालाई खाइराखेको छ,’ उनले भने।
सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिअनुसारका सामग्री निरन्तर देखाउने प्रवृत्तिले मानिसको सोच्ने शैली र सिर्जनशीलतामा नकारात्मक प्रभाव पारिरहेको उनले बताए ।
‘यो मोबाइलको भाँडोलाई मोहनी लगाइदियो,’ उनले भने, ‘यसले हाम्रो दिमागमा जुन असर पारेको छ, यसबाट हाम्रो समाजलाई जोगाउनुपर्नेछ।’
नेपाली समाज लाइक र भ्युजको आकर्षणमा परेर आफ्नै संस्कृति र सभ्यताबाट टाढिँदै गएको टिप्पणी गर्दै पोखरेलले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।











प्रतिक्रिया