काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीबिनाको एमाले बनाउन खोज्नेहरूलाई नै विकल्प खोज्ने चेतावनी दिएका छन् ।
शनिबार पार्टीको नेसनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवस कार्यक्रमलाई सम्बोधन बस्नेतले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीमाथि वैदेशिक शक्तिहरूले घेराबन्दी गरिरहेको भन्दै बस्नेतले ओलीबिनाको नेपाल र एमाले बनाउने प्रयास सफल नहुने बताए ।
उनले भने, ‘ओलीबिनाको नेपाल बनाउन खोजे, ओलीबिनाको एमाले बनाउन खोजे यो सम्भव छैन । हामी तपाईँको साथमा छौँ भनेर युवाहरूले साथ दिएका छन् । ओलीबिनाको युवा, युवाबिनाको ओली अपूरो हुन्छ भन्ने कुरा युवाहरूले प्रमाणित गरे ।’ युवाहरूले देशको जिम्मेवारी ओलीले नै लिनुपर्ने भनिरहेको पनि बस्नेतले बताए ।
उनले थपे, ‘ओलीबिनाको एमाले बनाउन खोजियो, केन्द्रीय कमिटीको बैठक बस्यौँ, राष्ट्रिय कार्यकर्ता भेला गर्यौँ र सर्वसम्मत ढङ्गले भन्यौँ एमालेमा ओलीको विकल्प कसैले खोज्छ भने त्यसको विकल्प कार्यकर्ताले खोज्नेछन्, त्यसको विकल्प नेताहरूले खोज्नेछन् ।’
ओलीबिनाको मुलुक बनाउने सपना बाँडेर भ्रमको खेती गर्नेहरू असफल हुने बस्नेतको भनाइ छ ।











प्रतिक्रिया