५ मंसिर २०८३, शनिबार

साहसीहरूको गन्तव्य भोलेन्टियर फोर्स : संकटमा जन्मिएको शक्ति, समर्पणमा हुर्किएको संगठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–कृष्ण ओली

हरेक संगठन कुनै न कुनै उद्देश्य, आवश्यकता, विचार र परिस्थितिबाट जन्मिन्छ । कतिपय संगठन लामो राजनीतिक अभ्यास र विचारको विकासक्रमबाट निर्माण हुन्छन्, कतिपय समयको माग र संकटले जन्माउँछन् । नेकपा (एमाले)को २३ जनसंगठनमध्ये सबैभन्दा कान्छो जनसंगठन नेशनल भोलेन्टियर फोर्स समयको एउटा असहज मोड, राजनीतिक असुरक्षा, संगठनात्मक आवश्यकता र युवाको परिचालनबाट जन्मिएको संगठन हो ।

यसको जन्म सामान्य राजनीतिक परिवेशमा भएको थिएन । देश हिंसा, अराजकता, आगजनी, तोडफोड, लुटपाट, राजनीतिक नेतृत्वमाथिको धम्की र असुरक्षाको मनोविज्ञानबाट गुज्रिरहेको समय थियो । राज्यका संयन्त्र, राजनीतिक नेतृत्व, नागरिक, व्यवसायी र सार्वजनिक जीवनमा सक्रिय मानिसहरू नै असुरक्षाको अनुभूति गरिरहेका थिए । राजनीतिक विचार र असहमतिको सीमारेखा नाघेर हिंसा, प्रतिशोध र विध्वंसतर्फ उन्मुख गतिविधिहरूले समाजमा भयको वातावरण बनाइरहेका थिए । त्यही असहज परिस्थितिमा संगठन, नेतृत्व र नागरिकको सुरक्षा तथा सार्वजनिक हितमा स्वयंसेवी शक्ति परिचालन गर्ने आवश्यकता महसुस भयो ।

नेशनल भोलेन्टियर फोर्सको औपचारिक घोषणा २०८२ मंसिर ५ गते भयो । तर यसको प्रारम्भिक सक्रियता भदौ २३ र २४ को जेनजी आन्दोलन लगत्तै उत्पन्न परिस्थितिबाटै सुरु भएको थियो । त्यसैले यसको स्थापना मिति एउटा औपचारिक दिन भए पनि यसको जन्मको पृष्ठभूमि संकट, असुरक्षा र प्रतिरोधको आवश्यकता थियो । संगठनको नाम पछि स्थापित भयो, तर यसको औचित्य समयले पहिल्यै खोजिसकेको थियो ।

आज पहिलो स्थापना दिवस मनाइरहँदा नेशनल भोलेन्टियर फोर्स केवल एउटा नयाँ संगठनको वर्षगाँठमा सीमित छैन । यो एउटा कठिन समयको स्मरण, मैदानमा उभिएका युवाको समर्पण, नेतृत्वप्रतिको विश्वास, संगठनात्मक साहस र आफ्नो औचित्य कामबाट प्रमाणित गर्ने प्रयासको समीक्षा पनि हो ।

संकटको समय, साहसको परिचय

राजनीतिक संगठनको वास्तविक शक्ति अनुकूल परिस्थितिमा देखिने भीडले मात्र निर्धारण गर्दैन । कठिन समयमा को उभिन्छ, कसले जिम्मेवारी लिन्छ, कसले जोखिमको सामना गर्छ र कसले संगठनको मनोबल जोगाउँछ भन्ने कुराले संगठनको चरित्र निर्धारण गर्छ ।

जेनजी आन्दोलनपछि उत्पन्न हिंसात्मक र अराजक परिस्थितिमा नेकपा (एमाले)का नेता, कार्यकर्ता, पार्टी कार्यालय, निजी निवास तथा राजनीतिक नेतृत्वमाथि लक्षित धम्की र आक्रमणका घटनाले पार्टीभित्र सुरक्षा चुनौती गम्भीर बनेको थियो । अध्यक्ष केपी शर्मा ओलीसहित पार्टी नेतृत्वमाथि सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट आक्रमणका धम्की सार्वजनिक भइरहेका थिए । नेताहरूका घर जलाउने, राजनीतिक प्रतिशोध लिने र लक्षित आक्रमण गर्ने अभिव्यक्तिहरूले सामान्य राजनीतिक असहमतिभन्दा बाहिरको भयावह मनोविज्ञान सिर्जना गरिरहेका थिए ।

त्यस्तो बेला आफ्ना नेता, संगठन र कार्यकर्ताको सुरक्षाका लागि युवाहरू परिचालन हुनु राजनीतिक संगठनको स्वाभाविक प्रतिरक्षा भावनासँग जोडिएको विषय थियो । त्यसलाई व्यवस्थित स्वरूप दिने प्रयास नै नेशनल भोलेन्टियर फोर्सको प्रारम्भिक यात्रा बन्यो ।

नेकपा (एमाले)का सचिव महेश बस्नेतको अगुवाइ, युवा परिचालनको अनुभव र मैदानमा सक्रिय पुष्प श्रेष्ठलगायतका युवाहरूको सहभागिताले यसको प्रारम्भिक संरचनालाई गति दियो । जोखिम, अनिश्चितता र चुनौतीका बीच पनि युवाहरू परिचालित भए । व्यक्तिगत सुविधा, पारिवारिक समय, नियमित जीवन र आफ्नो भविष्यका योजनालाई पछाडि राखेर संगठनको जिम्मेवारीमा खटिनेहरूको एउटा पंक्ति तयार भयो ।

त्यो समय सामान्य राजनीतिक गतिविधिको समय थिएन। काठमाडौंमा बस्न, हिँड्न, आफ्नो व्यवसाय सञ्चालन गर्न, सार्वजनिक गतिविधिमा सहभागी हुन र सामान्य नागरिक जीवन बिताउनसमेत मानिसहरू असुरक्षित महसुस गरिरहेका थिए। यस्तो अवस्थामा नेतृत्व, नागरिक र सार्वजनिक जीवनमा सक्रिय मानिसहरूको सुरक्षाका लागि खटिएका युवाहरूले एउटा फरक परिचय निर्माण गर्ने प्रयास गरे।

महेश बस्नेतका लागि त्यो केवल राजनीतिक परिचालनको विषय थिएन, अडानको प्रश्न थियो । पुष्प श्रेष्ठहरूका लागि त्यो केवल संगठनको जिम्मेवारी थिएन, मैदानमा उभिने साहसको परीक्षा थियो । र, परिचालित युवाहरूका लागि त्यो केवल आदेश पालना गर्नु थिएन, आफ्नो राजनीतिक विश्वास र संगठनप्रतिको निष्ठा व्यवहारमा देखाउने अवसर थियो।जसको साथमा राष्ट्रिय युवा संघ, अखिल सहितका अरु संगठन पनि थिए ।

संकटले धेरै मानिसलाई पछि हट्न बाध्य बनाउँछ । तर संकटले नै केही मानिसको साहसलाई चिनाउँछ। नेशनल भोलेन्टियर फोर्सको प्रारम्भिक परिचय त्यही साहससँग जोडिएको छ ।

ओलीप्रतिको भरोसा, महेशको अडान र संगठनको आत्मबल

राजनीतिमा नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध केवल पद र जिम्मेवारीको सम्बन्ध होइन । त्यो विश्वास, विचार, संघर्ष, भावनात्मक सम्बन्ध र साझा राजनीतिक यात्राको सम्बन्ध हो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति पार्टीका कार्यकर्ता र समर्थकमा रहेको विश्वासले संकटका बेला संगठनात्मक ऊर्जा निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

ओलीको राजनीतिक जीवन, राष्ट्रियता, विकास, समृद्धि, स्थिरता र राजनीतिक अडानसँग जोडिएको पार्टीको एउटा ठूलो पंक्तिका लागि उनी केवल अध्यक्ष होइनन्, राजनीतिक विश्वासको केन्द्र पनि हुन् । बा हुन् । नायक हुन् । आदर्श र आस्था हुन् । त्यसैमा उनीमाथि लक्षित धम्की, आक्रमणको प्रयास वा निवासमाथिको असुरक्षा पार्टीका कार्यकर्ताले आफ्नो राजनीतिक अस्तित्व र संगठनमाथिको चुनौतीका रूपमा अनुभूत गर्नु स्वाभाविक थियो ।

यही भावनालाई संगठित शक्ति र जिम्मेवार परिचालनमा बदल्ने काममा महेश बस्नेतको अडान महत्वपूर्ण रह्यो । राजनीतिक प्रतिरोधको भावना, युवाको परिचालन र नेतृत्वको सुरक्षाका लागि मैदानमा उपस्थित हुने अभ्यासले भोलेन्टियर फोर्सको प्रारम्भिक मनोबल निर्माण गर्‍यो ।

तर नेतृत्वप्रतिको विश्वासको अर्थ अन्धअनुकरण होइन । वास्तविक राजनीतिक निष्ठा भनेको नेतृत्वको विचार र उद्देश्यलाई जिम्मेवारीपूर्वक अघि बढाउनु, संगठनलाई अनुशासित बनाउनु, जनताको विश्वास जित्नु र संकटलाई राजनीतिक तथा सामाजिक समाधानतर्फ लैजानु हो । ओलीप्रतिको विश्वास, महेश बस्नेतको अडान र युवाहरूको साहसलाई दीर्घकालीन संगठनात्मक उपलब्धिमा रूपान्तरण गर्न यही परिपक्वता आवश्यक छ ।

नेशनल भोलेन्टियर फोर्सको राजनीतिक शक्ति यही सम्बन्धबाट निर्माण भएको हो– नेतृत्वको भरोसा, संगठनको आवश्यकता र युवाको समर्पण ।

युवा संघको विकल्प होइन, शक्तिको अर्को आयाम

नयाँ संगठन जन्मिएसँगै एउटा प्रश्न उठ्यो– नेकपा (एमाले)को राष्ट्रिय युवा संघ नेपाल हुँदाहुँदै अर्को युवा संगठन किन आवश्यक ?

यो प्रश्न स्वाभाविक थियो । युवा संघ पार्टीको स्थापित जनसंगठन हो । राजनीतिक प्रशिक्षण, युवा नेतृत्व विकास, संगठन विस्तार, विचारको प्रचार, आन्दोलन र राजनीतिक सहभागितामा यसको ऐतिहासिक भूमिका छ । त्यसैले नयाँ संगठनले युवा संघको विकल्प बनाउने, समानान्तर शक्ति निर्माण गर्ने वा संगठनात्मक प्रतिस्पर्धा निम्त्याउने हो कि भन्ने चिन्ता उठ्नु अस्वाभाविक थिएन ।

तर भोलेन्टियर फोर्सको औचित्य युवा संघलाई प्रतिस्थापन गर्नुमा होइन, पार्टीको युवा शक्तिलाई थप विविध, व्यवस्थित र उद्देश्यअनुसार परिचालित बनाउन सक्ने संरचना विकास गर्नुमा छ ।

युवा संघ राजनीतिक चेतना, नेतृत्व विकास, संगठन निर्माण र युवा आन्दोलनको प्रतिनिधि संगठन हो । नेशनल भोलेन्टियर फोर्स स्वयंसेवी परिचालन, सामाजिक सेवा, सुरक्षा सहयोग, विपद् व्यवस्थापन, राहत, उद्धार, सार्वजनिक हित र अनुशासित परिचालनको अभ्यासमा केन्द्रित हुन सक्छ। यी दुई संगठनको भूमिका फरक भए पनि पार्टीको संगठनात्मक शक्ति, युवा सहभागिता र समाजमा योगदान पुर्‍याउने साझा उद्देश्यसँग जोडिएका छन् ।

एउटै संगठनले सबै जिम्मेवारी सम्हाल्नुपर्छ भन्ने आवश्यक छैन । संगठनको आकारभन्दा कार्यक्षेत्र, क्षमताभन्दा जिम्मेवारीको स्पष्टता र प्रतिस्पर्धाभन्दा सहकार्य महत्वपूर्ण हुन्छ । युवा संघको राजनीतिक तथा संगठनात्मक अनुभव र भोलेन्टियर फोर्सको स्वयंसेवी परिचालन क्षमता एकअर्काका पूरक बन्न सके एमालेको युवा शक्ति अझ सशक्त हुन सक्छ ।

नयाँ संगठनको औचित्य बहसबाट होइन, कामबाट प्रमाणित हुनुपर्छ । नेशनल भोलेन्टियर फोर्सले आफ्नो पहिलो वर्षमा यही प्रमाणित गर्ने प्रयास गरेको छ ।

आरोपको आवाजभन्दा योगदानको मूल्य ठूलो हुन्छ

राजनीतिक संगठनप्रति आलोचना हुनु लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो । भोलेन्टियर फोर्सप्रति पनि अनेक टिप्पणी, आरोप र नकारात्मक अभिव्यक्तिहरू आए। कसैले यसलाई राजनीतिक सुरक्षा दस्ता भन्यो, कसैले शक्ति प्रदर्शनको संरचना ठान्यो, कसैले ‘झोले’ वा ‘डन’ जस्ता शब्द प्रयोग गरेर यसमा आबद्ध युवालाई अपमानित गर्ने प्रयास गर्‍यो ।

तर कुनै संगठनको मूल्यांकन नाम वा आरोपले होइन, काम, व्यवहार, अनुशासन, योगदान र जनतासँगको सम्बन्धले गर्नुपर्छ ।

संगठनप्रति असहमति हुन सक्छ । राजनीतिक विचार स्वीकार्य नहुन सक्छ । यसको कार्यशैलीमाथि प्रश्न उठाउन सकिन्छ । तर राजनीतिक आस्थाका आधारमा कुनै युवा स्वयंसेवकको श्रम, योगदान र समर्पणलाई अपमानित गर्नु न्यायसंगत हुँदैन । त्यस्तै, संगठनले पनि आलोचनालाई शत्रुता ठान्नु हुँदैन । आलोचनाको सामना कामले गर्नुपर्छ, असहमतिको जवाफ जिम्मेवारीले दिनुपर्छ र आरोपको प्रतिवाद सेवाबाट गर्नुपर्छ ।

कसैले संगठनलाई डन देख्न सक्छ, कसैले कार्यकर्ता । तर समाजले स्वयंसेवक देख्न पाउने गरी काम गर्नु नै यसको वास्तविक सफलता हो । राजनीतिक शक्ति डरमा होइन, भरोसामा स्थापित हुनुपर्छ । परिचालनको प्रभाव भीडमा होइन, योगदानमा देखिनुपर्छ । संगठनको प्रतिष्ठा अरूलाई परास्त गरेर होइन, नागरिकलाई सहयोग गरेर बढ्नुपर्छ ।

भोलेन्टियर फोर्सका लागि यो केवल आलोचनाको जवाफ दिने प्रश्न होइन, आफ्नो भविष्य निर्माण गर्ने आधार हो ।

भोटेकोशीको विपत्तिमा राजनीतिक परिचयभन्दा माथि मानवीय सेवा

राजनीतिक संगठनको परिचय केवल आन्दोलन, सभा, जुलुस, प्रतिरोध र नेतृत्वको सुरक्षामा सीमित हुँदैन । संकटमा नागरिकको जीवन सहज बनाउनु, विपत्तिमा उद्धार गर्नु, पीडितको आँसु पुछ्नु र समाजलाई पुनः उभिन सहयोग गर्नु पनि संगठनको महत्वपूर्ण जिम्मेवारी हो । यहीँबाट स्वयंसेवी संगठनको वास्तविक अर्थ सुरु हुन्छ ।

भोटेकोशी बाढीले रसुवा र नुवाकोट क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि नेशनल भोलेन्टियर फोर्सका युवाहरू प्रभावित क्षेत्रमा निरन्तर खटिएको प्रसंग यसको अर्को परिचय बनेको छ । विपत्तिको तेस्रो दिनदेखि उद्धार, राहत, प्रभावित परिवारको व्यवस्थापन, अस्थायी आवास निर्माण र पुनर्स्थापनाका काममा संलग्न हुनु संगठनको सेवामुखी पक्षको महत्वपूर्ण उदाहरण हो ।

बाढीले घर बगाएका परिवारका लागि टहरा निर्माण गर्नु, राहत पुर्‍याउनु, जोखिममा परेका मानिसलाई सहयोग गर्नु र प्रभावित समुदायको पुनःस्थापनामा हातेमालो गर्नु राजनीतिक भाषणभन्दा प्रत्यक्ष अर्थ राख्ने काम हो । सयैको संख्यामा हजारौका लागि अस्थायी आवास निर्माणमा स्वयंसेवकहरू संलग्न रहेको विवरणले संगठनको परिचालन क्षमताको एउटा महत्वपूर्ण पक्ष देखाउँछ ।

विपद्ले मानिसको राजनीतिक आस्था सोध्दैन । बाढीले घर बगाउँदा पीडितको पार्टी हेर्दैन । पहिरोले बाटो अवरुद्ध गर्दा नागरिकको विचारधारा खोज्दैन । आगलागी हुँदा मानवीय जीवन नै पहिलो प्राथमिकता हुन्छ । त्यसैले स्वयंसेवी संगठनको सेवा पनि राजनीतिक सीमाभन्दा माथि उठेर नागरिकको आवश्यकता केन्द्रित हुनुपर्छ ।

यदि भोलेन्टियर फोर्सले विपद् व्यवस्थापनमा नियमित, प्रशिक्षित, पारदर्शी र प्रभावकारी योगदान गर्न सक्छ भने यसको सामाजिक प्रतिष्ठा स्वतः बढ्नेछ । नागरिकले संगठनलाई राजनीतिक परिचयबाट मात्रै होइन, संकटमा साथ दिने शक्तिका रूपमा सम्झनेछन् । कुनै पीडित परिवारले पुनःनिर्मित टहरामा सुरक्षित रात बिताउँदा, कुनै विपद् प्रभावित बालबालिकाले सहयोग पाउँदा वा कुनै असहाय नागरिकले स्वयंसेवकको हात समातेर संकट पार गर्दा संगठनको वास्तविक अर्थ स्थापित हुन्छ ।

त्यही सेवाले आलोचनाभन्दा ठूलो जवाफ दिन सक्छ । त्यही योगदानले संगठनको नामलाई राजनीतिक नाराभन्दा माथि उठाउन सक्छ । त्यही मानवीय उपस्थितिले संगठनलाई जनताको भरोसासँग जोड्न सक्छ ।

स्वयंसेवा केवल परिचालन होइन, जिम्मेवारीको संस्कार हो

भोलेन्टियर फोर्सको नाममा स्वयंसेवाको दर्शन जोडिएको छ । स्वयंसेवा भनेको कुनै निर्देशन आएपछि उपस्थित हुनु मात्र होइन, समाजको आवश्यकतालाई आफ्नो जिम्मेवारी ठान्नु हो । आफ्नो समय, श्रम, सीप र क्षमताको योगदान गर्दै अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु स्वयंसेवाको मूल भावना हो ।

यस संगठनले आगामी दिनमा निम्न क्षेत्रमा व्यवस्थित र संस्थागत रूपमा काम गर्न सके आफ्नो भूमिका अझ व्यापक बनाउन सक्छ ।

विपद् व्यवस्थापन र उद्धार, सामाजिक सेवा र सहकार्यका साथै रक्तदान, स्वास्थ्य शिविर, सरसफाइ अभियान, सडक सुरक्षा, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई सहयोग, सार्वजनिक स्थानमा नागरिक सहायता दिन सक्रिय छ ।

सामाजिक विभाजन, द्वन्द्व र असहिष्णुताको वातावरणमा शान्ति, संवाद, सद्भाव र नागरिक सहयोग प्रवर्द्धन गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, नदी तथा जलस्रोत सरसफाइ, वृक्षरोपण, वातावरणीय चेतना र सामुदायिक संरक्षण अभियानका लागि पनि संगठन जरुरी छ ।

युवा क्षमता विकास

अनुशासन, प्राथमिक उपचार, विपद् व्यवस्थापन, नेतृत्व क्षमता, स्वयंसेवी सीप, नागरिक जिम्मेवारी र व्यावहारिक प्रशिक्षण र राहत तथा पुनर्स्थापना सहित प्रभावित समुदायलाई राहत वितरण, अस्थायी आवास निर्माण, पुनर्स्थापनाका काममा सहयोग र स्थानीय आवश्यकताअनुसार स्वयंसेवक परिचालन जस्ता कामका लागि केवल उत्साह पर्याप्त हुँदैन । तालिम, आचारसंहिता, स्पष्ट जिम्मेवारी, जोखिम मूल्यांकन, कानुनी मर्यादा, सुरक्षित परिचालन, स्थानीय प्रशासनसँग समन्वय र पारदर्शी कार्यप्रणाली आवश्यक हुन्छ। संगठन जति विस्तार हुन्छ, त्यसको अनुशासन र जवाफदेहिता पनि त्यति नै बलियो हुनुपर्छ ।

स्वयंसेवकको जीवन, स्वास्थ्य, परिवार, शिक्षा, रोजगारी र भविष्यलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नु पनि संगठनको सफलता हो । साहसको अर्थ अनावश्यक जोखिम उठाउनु होइन, जोखिम बुझेर, आवश्यक सीप सिकेर, सुरक्षित तरिकाले जिम्मेवारी निर्वाह गर्नु हो ।

परिवार, भविष्य र समर्पण : युवाको योगदानलाई सम्मान गर्ने संगठन

भोलेन्टियर फोर्समा आबद्ध धेरै युवाहरू आफ्नो जीवनको उर्वर समय संगठनका गतिविधिमा खर्चिरहेका छन् । पढ्ने, कमाउने, परिवारसँग समय बिताउने, आफ्नो भविष्य बनाउने उमेरमा उनीहरू संगठनको जिम्मेवारीमा खटिएका छन् । कतिपयले पारिवारिक समय त्यागेका छन्, व्यक्तिगत काम पछाडि सारेका छन् र कठिन परिस्थितिमा पनि मैदानमा उपस्थित भएका छन् ।

यो समर्पण सामान्य होइन । संगठनप्रतिको विश्वास, राजनीतिक आस्था, नेतृत्वप्रतिको भरोसा र जिम्मेवारीको भावना मिलेर यस्तो परिचालन सम्भव हुन्छ । तर युवाको समर्पणलाई केवल त्यागको प्रशंसामा सीमित गर्नु हुँदैन । उनीहरूको त्यागलाई अवसर, सीप, सम्मान, सुरक्षित भविष्य र नेतृत्व विकासमा रूपान्तरण गर्नुपर्छ ।

संगठनले युवालाई केवल परिचालन हुने सदस्यका रूपमा होइन, भविष्यका नेता, सामाजिक अभियन्ता, दक्ष स्वयंसेवक, सक्षम नागरिक र जिम्मेवार व्यक्तिका रूपमा विकास गर्नुपर्छ । उनीहरूलाई तालिम, अध्ययन, रोजगारी, उद्यम, नेतृत्व विकास र सामाजिक सेवाका अवसरसँग जोड्न सक्नुपर्छ ।

घरपरिवारको जिम्मेवारी पूरा गर्दै समाजका लागि समय दिनु, आफ्नो भविष्य निर्माण गर्दै नागरिक सेवामा योगदान गर्नु र राजनीतिक आस्था राख्दै लोकतान्त्रिक मर्यादाको पालना गर्नु नै दीर्घकालीन समर्पण हो । परिवार छोड्नु महानता होइन; परिवारको जिम्मेवारी पूरा गर्दै समाजका लागि योगदान गर्नु महानता हो । जीवन जोखिममा पार्नु साहस होइन; आफ्नो जीवन सुरक्षित राख्दै अरूको जीवन बचाउन सक्ने क्षमता वास्तविक साहस हो ।

भोलेन्टियर फोर्सले आफ्ना युवाहरूलाई यही संस्कारमा प्रशिक्षित गर्न सक्यो भने संगठन केवल परिचालनको शक्ति रहनेछैन, जिम्मेवार युवा नेतृत्व निर्माण गर्ने विद्यालय बन्नेछ ।

एक वर्षको उपलब्धि, आगामी यात्राको संकल्प

नेशनल भोलेन्टियर फोर्सले पहिलो वर्षमा आफ्नो प्रारम्भिक परिचय निर्माण गरेको छ । राजनीतिक संकटमा परिचालन, नेतृत्व र संगठनको सुरक्षामा सक्रियता, मैदानमा युवाको उपस्थिती, सामाजिक सेवामा संलग्नता, विपद् प्रभावित क्षेत्रमा योगदान र संगठन विस्तारले यसको पहिलो वर्षलाई महत्वपूर्ण बनाएको छ ।

स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीबाट सात सयभन्दा बढी युवालाई संगठनमा आबद्ध गराइएको विषय संगठन विस्तारको उत्साह र भविष्यप्रतिको भरोसासँग जोडिएको छ । काठमाडौंमा भव्य रूपमा स्थापना दिवस मनाउनु, देशका विभिन्न क्षेत्रबाट युवाको सहभागिता र संगठनको केन्द्रीय संरचनालाई विस्तार गर्दै अघि बढ्नुले संगठनको यात्रालाई थप गति दिने अपेक्षा गर्न सकिन्छ ।

तर सदस्य संख्या मात्रै संगठनको शक्ति होइन । सदस्यको क्षमता, अनुशासन, जिम्मेवारी, कार्यक्षमता र नागरिकप्रतिको व्यवहार नै वास्तविक शक्ति हुन् । संगठनको विस्तारसँगै प्रशिक्षण, आचारसंहिता, स्थानीय तहमा सेवा कार्यक्रम, विपद् व्यवस्थापन टोली, नियमित सामाजिक अभियान र जवाफदेहिताको अभ्यास अघि बढाउन आवश्यक छ ।

एक वर्षको उत्साह अब आगामी वर्षहरूको संस्थागत उपलब्धिमा बदलिनुपर्छ । संगठनको नाम र परिचय स्थापित भएको छ, अब कामको गुणस्तर, सेवा र जिम्मेवारीले प्रतिष्ठा स्थापित गर्नुपर्नेछ ।

साहसीहरूको गन्तव्य, जिम्मेवारी उठाउने युवाको रोजाइ

नेशनल भोलेन्टियर फोर्स केवल एउटा राजनीतिक जनसंगठन होइन, कठिन समयबाट जन्मिएको युवा परिचालनको अभ्यास हो । यसको जन्म संकटको पृष्ठभूमिमा भयो, प्रारम्भिक परिचय प्रतिरोध र सुरक्षासँग जोडियो, नेतृत्वको अडानले ऊर्जा दियो, युवाको समर्पणले आकार दियो र सामाजिक सेवाले यसको अर्को सम्भावना देखाएको छ ।

केपी शर्मा ओलीप्रतिको राजनीतिक भरोसा, महेश बस्नेतको अडान र परिचालन, पुष्प श्रेष्ठसहित मैदानमा खटिने युवाहरूको साहस तथा संगठनमा आबद्ध हजारौँ स्वयंसेवकको ऊर्जा यसको आधार हो । अब यो आधारलाई अनुशासन, सेवा, सामाजिक उत्तरदायित्व, प्रशिक्षण र नागरिक भरोसामा अझ मजबुत बनाउनुपर्नेछ ।

साहस भनेको केवल प्रतिरोध गर्नु होइन, आवश्यक पर्दा सहयोगका लागि अघि बढ्नु पनि हो । संगठन भनेको केवल भीड जम्मा गर्नु होइन, जिम्मेवारी बाँड्नु र पूरा गर्नु पनि हो । निष्ठा भनेको केवल नेतृत्वको पक्षमा उभिनु होइन, नेतृत्वले विश्वास गरेको उद्देश्यलाई सही आचरण, लोकतान्त्रिक मर्यादा र जनहितमा पूरा गर्नु पनि हो ।

आफ्नो विचारमा दृढ, जिम्मेवारीमा इमानदार, अनुशासनमा अब्बल, सेवामा समर्पित र नागरिकको दुःखमा उपस्थित हुने युवा नै संगठनको वास्तविक सम्पत्ति हुन् । भोलेन्टियर फोर्सले त्यस्ता युवाको निर्माण गर्न सक्यो भने यसको एक वर्षको यात्रा केवल स्थापना दिवसमा सीमित रहनेछैन, एउटा नयाँ संगठनात्मक संस्कृतिको सुरुवात बन्नेछ ।

साहसीहरूको गन्तव्य भोलेन्टियर फोर्स बनोस् । सेवामा समर्पित युवाको रोजाइ बनोस् । संकटमा नागरिकको भरोसा, संगठनको शक्ति, विचारको रक्षक र समाजको सेवक बनोस् ।

साहसको परिचय मैदानमा, निष्ठाको प्रमाण व्यवहारमा, संगठनको गौरव सेवामा र युवाको भविष्य जिम्मेवारीमा स्थापित होस् ।

नेशनल भोलेन्टियर फोर्सको प्रथम स्थापना दिवसको हार्दिक शुभकामना ।