काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी स्थापनाको एक वर्षे यात्रामा विभिन्न चुनौती, आशा, निराशा र सम्भावनाका अनुभव हासिल गरेको बताएका छन् ।
पार्टीको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा पार्टीलाई देशव्यापी रूपमा विस्तार गरी जनताको विश्वासअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘हाम्रो एक वर्षको यात्रा आशा, निराशा र सम्भावनाबीच अघि बढेको छ । विभिन्न चुनौतीको सामना गर्दै हामी अहिले देशव्यापी रूपमा संगठन विस्तार र सदस्यता अभियानमा जुटेका छौँ । आगामी दिनमा जनताको विश्वास र साथलाई आत्मसात् गर्दै उज्यालो नेपाल पार्टीलाई देशव्यापी रूपमा स्थापित गरी अघि बढ्ने हाम्रो सङ्कल्प छ ।’
घिसिङले पार्टी स्थापनाका क्रममा ५१ जनाको सहभागितामा सुरु भएको अभियान अहिले देशव्यापी संगठन तथा सदस्यता विस्तारको चरणमा पुगेको बताए । स्थापनापछि अर्को दलसँग एकीकरण गर्ने क्रममा भएको सहमति कार्यान्वयन नभएको घटनालाई उनले राजनीतिक दुर्घटनाको संज्ञा दिए । उक्त घटनाले पार्टीलाई केही समय निराश बनाए पनि त्यसबाट पाठ सिक्दै उज्यालो नेपाल पार्टीलाई स्वतन्त्र रूपमा अघि बढाइएको उनको भनाइ थियो ।
निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसके पनि पार्टीले जनताको मन जित्न सफल भएको घिसिङले दाबी गरे । निर्वाचनपछिको निराशालाई चिर्दै अहिले पार्टी संगठन विस्तार र सदस्यता अभियानमा सक्रिय रहेको उल्लेख गर्दै उनले पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।
उनले उज्यालो नेपाल पार्टी कुनै पनि प्रकारको अतिवादको पक्षमा नरहेको स्पष्ट पारे । आर्थिक, धार्मिक, जातीय, वर्गीय तथा लैङ्गिक अतिवादबाट टाढा रहेर सहकार्य, सद्भाव र समावेशितामा आधारित मध्यमार्गी राजनीतिक बाटो पार्टीले अवलम्बन गर्ने उनको भनाइ थियो ।
उनले भने, ‘हामीले ५१ जनाबाट सुरु गरेको उज्यालो नेपाल पार्टी अहिले देशव्यापी रूपमा संगठन विस्तारको अभियानमा अघि बढिरहेको छ । स्थापनाकै क्रममा केही राजनीतिक दुर्घटनाको सामना गर्नुपर्यो, निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेनौँ । तर हामी निराश नभई त्यसबाट पाठ सिकेर अगाडि बढेका छौँ । उज्यालो नेपाल पार्टी कुनै पनि अतिवादको पक्षमा छैन । सहकार्य, सद्भाव र समावेशितालाई आत्मसात् गर्दै हामी मध्यमार्गी राजनीतिक बाटोबाट अघि बढ्छौँ ।’
घिसिङले उज्यालो नेपाल पार्टीको आर्थिक रूपान्तरणको मुख्य आधार ‘हरित क्रान्ति’ रहेको बताए । नेपालको प्राकृतिक स्रोतसाधन, जलविद्युत्, कृषि, वन तथा पर्यटन क्षेत्रको दिगो र व्यावसायिक उपयोगमार्फत देशलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजाने पार्टीको लक्ष्य रहेको उनले उल्लेख गरे ।











प्रतिक्रिया